बुटवल (खस्यौली), ६ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभाका सदस्य बालकृष्ण खाँणले संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय सुझाव सङ्कलनका विरुद्ध बोल्ने अधिकार कसैलाई पनि नभएको बताउनुभएको छ ।
आफ्नै पार्टीका केही नेताले सुझाव सङ्कलनको औचित्य नरहेको प्रतिक्रिया आएपछि उहाँले सुझाव सङ्कलन गर्दै हिँड्ने सभासद्ले नै त्यसरी बोल्न अनुचित हुने बताउनुभएको हो ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले संविधानको प्रारम्भिक समस्यौदामा राय सुझाव दिनका लागि जनताको सहभागिता प्रभावकारी भइरहँदा त्यस्तो अभिव्यक्ति नदिन पनि उहाँले आग्रह गर्नुभएको हो ।
उहाँले संविधान नेताका लागिभन्दा पनि जनताका लागि बनाउन लागिएकाले जनताको राय सुझावलाई बेवास्ता गर्न नहुने बताउनुभयो ।
सोह्र बुँदे राजनीतिक सहमतिपछि सुरु भएको राजनीतिक यात्राले संविधानलाई गति मिलेको बताउँदै उहाँले संविधानमा विरोध गर्दा पूर्वराजालाई फाइदा पुग्ने भएकाले विरोधमा उत्रेका शक्तिलाई संविधान निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । रासस












प्रतिक्रिया