काठमाडौँ, ५ साउन । विश्वभर छरिएर रहेका नेपालीले युगमा एक पटक आउने संविधान निर्माणको महत्वपूर्ण अवसरमा आफ्नो सुझाव इमेलमार्फत पठाएका छन् ।
संविधानसभा सचिवालयका प्राविधिक प्रदीपकुमार नेपालकाअनुसार सबैभन्दा बढी सुझाव अमेरिका र संयुक्त अधिराज्य बेलायतमा रहेका नेपालीले पठाएका छन् । विश्वभरका करिब सयभन्दा बढी मुलुकमा रहेका नेपालीले सुझाव पठाएको सचिवालयको भनाइ छ ।
खाडी मुलुकमध्ये कतार, संयुक्त अरब इमिरेट्, दुबई, बहराइन, ओमन, मलेसियाबाट पनि उल्लेख्य सुझाव प्राप्त भएको छ । दक्षिण कोरिया, जापान र अफ्रिकी मुलुक केन्याबाट समेत राजनीतिक स्थिरता कायम गर्ने राजनीतिक प्रणालीको माग गर्दै सुझाव पठाएको नेपालको भनाइ छ । रसिया तथा अन्य युरोपेली मुलुकमा रहँदै आएका नेपालीले सगरमाथा, लुम्बिनीजस्ता संसारले गौरव गर्ने नामका आधारमा प्रदेशको नामाकरण गर्न सुझाव दिएका छन् ।
हालसम्म विद्युतीय माध्यमबाट सुझाव दिने २६ हजार बढीले सुझाव दिएका छन् । बेवसाइटबाट मात्रै १७ हजार ३९५ वटा सुझाव प्राप्त भएको छ भने टोल फ्री नम्बरबाट करिब तीन हजार सुझाव प्राप्त भएका छन् ।













प्रतिक्रिया