हेटौंडा, ५ साउन । संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रममा अवरोध पुर्याउन खोज्दा हेटौडामा राप्रपा नेपालका सभासद् गणेश थापा नराम्रोसँग कुटिएका छन् ।
सभासद् थापामाथि खुकुरी प्रहार भएको बताइएको छ । उनको टाउकोमा चोट लागेको छ । राप्रपा नेपालकै अध्यक्ष कमल थापाका छोरा अभिषेक थापामाथि समेत आक्रमण भएको छ । उनको अनुहारभरि निलडाम छ ।
मकवानपुरको क्षेत्र नम्बर ३ मा चलिरहेको सुझाव संकलन कार्यक्रम रोक्न खोज्दा युवाहरुको एक समूहले खुकरी र रड प्रहार गरेको थापाले बताए ।
सभासद थापा र राप्रपा नेपालका नेता कार्यकर्ताले सुझाव संकलन कार्यलाई बाधा पुग्ने गरी नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यसपछि प्रदर्शनकारीहरु सुझाव संकलन भइरहेको मञ्चमा जान खोज्दा झडप भएको हो । झडपमा राप्रपा नेपालका जिल्ला अध्यक्ष नवराज विष्ट लगायत घाइते भएका छन् ।
यसअघि हिजो झडपमा परी मकवानपुर क्षेत्र नम्बर ३ मै राप्रपा नेपालका अध्यक्ष कमल थापाकी पत्नी समेत घाइते भएकी थिईन् । घटनाको फोटो समेत ट्वीट गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले हिन्दूराष्ट्रको पक्षमा शान्तिपूर्ण प्रदर्शन गर्दा दमन भएको भनी त्यसको बिरोध गरेका छन् ।




















प्रतिक्रिया