वीरगन्ज, ३ साउन । भारत परस्त मानिएका नेपाली काँग्रेसका नेता तथा सभासद् अमरेशकुमार सिंह मधेशी समुदायलाई भड्काउने गरी कडा अभिव्यक्ति दिँदै तराईका जिल्लामा चहारिरहेका छन् ।
नयाँ संविधानको मस्यौदाले बहुसंख्यक नेपालीको भावना समेट्न नसकेको आरोप लगाउँदै उनले पार्टीको नीति विरुद्ध कडा अभिव्यक्ति दिएका हुन् ।
यो मस्यौदाले मधेसी, दलित, जनजाति, महिला र सिमान्तकृत समुदायको अधिकार र पहिचानलाई उपेक्षा गरेको छ, आइतबार बीरगञ्जमा आयोजित “मधेस र संविधानको मस्यौदा” विषयक मन्थन कार्यक्रममा उनले भने– नयाँ संविधानले यी बहुसंख्यक नेपालीको चाहना र असन्तुष्टिलाई सम्बोधन गर्न नसके मुलुकमा ढिलो चाँडो द्वन्द्व र अशान्तिको लहर आउन सक्छ ।
सभासद् सिंहले प्रमुख राजनीतिक दलबीच भएको १६बुँदे सहमतिको जगमा उभिएर आएको यो मस्यौदा मधेसी, सङ्घीयता, समावेशीता र अन्तरिम संविधान विरोधी भएको उल्लेख गर्दै भने — यो मस्यौदाकै आधारमा संविधान बन्यो भने निश्चितरुपमा देश टुक्रिन सक्छ, यसको सम्पूर्ण जिम्मेवारी प्रमुख दलले नै लिनुपर्दछ ।
उहाँले अहिलेको मस्यौदा नेपाली नागरिकलाई भन्दा पनि चार दलका नेतालाई राजा बनाउने नियतले ल्याएको जिकिर गरे ।
नेता सिंहले चार दलका चार नेताले संविधानसभालाई रबर स्टाम्पको रुपमा मात्र प्रयोग गर्न खोजेको बताउँदै यदी चार जना नेताले मात्रै संविधान बनाउने हो भने अर्बौ खर्च गरेर दुई पटक संविधानसभाको निर्वाचन किन गरियो त ? भनी प्रश्न गरे ।
सङ्घीयता नदिने नियतले नै अहिलेको मस्यौदा आएको चर्चागर्दै सम्वाद समितिमा पनि सभासद्लाई यो मस्यौदा अध्ययन गर्न पनि नदिएकाले आपूm रायसुझाव सङ्कलन प्रक्रिया बहिष्कार गरेर नेपाली जनतासमक्ष आएको उनको भनाइ थियो ।
सद्भावना पार्टीका सहअध्यक्ष एवम् सभासद् लक्ष्मणलाल कर्णले नयाँ संविधानको प्रारम्भिक मस्यौदाको प्रस्तावनादेखि अनुसूचीसम्म प्रयोग भएका शब्द र भाषालाई नियाल्दा प्रेस, नागरिकता र अदालतलगायतका विषयमा मस्यौदामा निकै त्रुटी देखिएको बताए ।
सहअध्यक्ष कर्णले अन्तरिम संविधानमा उल्लेख भएबमोजिम सिमांकन र नामाङ्कनसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नल्याए मुलुकमा फेरी चर्को आन्दोलन सुरु हुने चेतावनी दिए ।
राजनीतिक विश्लेषक विजयकान्त कर्णले मधेसलाई निषेध गर्ने सिद्धान्तमा आधारित भएर यो मस्यौदा आएको बताउँदै समाबेशीता, समानुपातिकता, सङ्घीयता र नागरिकता विरोधी यो मस्यौदाले मुलुकको एकता र अखण्डतालाई कमजोर बनाउने हुँदा यसको विरुद्धमा जनलहर ल्याउनुपर्ने विचारव्यक्त गरे ।













प्रतिक्रिया