काठमाडौं, ३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको एक महिनाभित्रै देशले संविधान पाउने बताउनुभएको छ ।
आइतबार एमाले अध्यक्ष ओलीले नेपाली जनताका नाममा अपील जारी गर्दै संविधान मुलुकको तत्कालीन राजनीतिक शक्ति सन्तुलनको दस्तावेज भएकाले चाँडै जारी हुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो-‘हामी जनताले चाहेको संविधान बनाउने प्रयत्नमा छौं, त्यसैअन्तर्गत मस्यौदा तपाईको हातमा पु¥याएका छौं, संविधान कस्तो बनाउने हो ? सबैले आ-आफ्नो सुझाव दिनुहोस् ।’
‘आम नेपाली जनता र परिवर्तनकारी लोकतान्त्रिक शक्तिको प्रतिनिधिका रूपमा नेकपा (एमाले)ले संविधान निर्माणमा सक्रिय, प्रभावकारी र नेतृत्वदायी भूमिका खेलिरहेको छ । तर सङ्ख्याका हिसाबले हामीहरू एक तिहाईभन्दा कम छौं ।
विभिन्न पक्षलाई मिलाउनुपर्ने आवश्यकताका कारण कतिपय बिषयमा सम्झौताहरू गरिएका छन् । यसले गर्दा संविधानको प्रारम्भिक मस्यौदामा कतिपय कमी-कमजोरी र सङ्गती नमिलेका पक्षहरू पनि रहेका हुन सक्छन् ।
मस्यौदाका बारेमा विमर्श गरिरहँदा देश र जनताका आधारभूत हितमा दृढ रहँदै संविधान निर्माणको विगत पृष्ठभूमि र शक्ति सन्तुलनको यस अवस्थालाई हेक्का राख्न म सबैसँग आग्रह गर्दछु ।’ अध्यक्ष ओलीद्धारा जारी गरिएको अपिलमा भनिएको छ ।












प्रतिक्रिया