काठमाडौं, २ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबैलाई एकतामा बाँध्ने संविधान आउने बताउनुभएको छ ।
बालकोटस्थित आफ्नै निवासमा आज बिहान मानवीय आस्था नेपालले आयोजना गरेको कार्यक्रममा भूकम्पपीडितलाई जस्तापाता वितरण गर्दै उहाँले अब सबै मिलेर देश बनाउने अवसर आएको बताउनुभयो । “राजनीति जस्तो भयो देश निर्माण त्यस्तै हुने भएकाले राजनीतिलाई सुधार्दै लैजानुपर्छ” उहाँले भन्नुभयो ।
विज्ञसँग बसेर योजनाबद्ध रुपमा विकास, पुनःनिर्माण एवम् पुनर्वासको व्यवस्था गरिने उहाँको भनाइ थियो । भूकम्पपछि एमालेले सरकार, नेपाली सेना र प्रहरीसँग मिलेर देशभर घरटहरा बनाउने अभियान सञ्चालन गरेको स्मरण गर्दै उहाँले एमालेले देशभर ३० हजार घर टहरा निर्माण, उद्धार तथा पीडितलाई राहत वितरण गर्ने कार्य गरेको बताउनुभयो ।
कार्यक्रममा उद्योगमन्त्री महेश बस्नेतले संविधान जारी भएपछि देशले गति लिने चर्चा गर्दै मानवीय आस्था नेपालले भूकम्पपछि पीडितलाई रु तीन करोड बराबरका एक हजार २०० वटा टहरा बनाउने एवम् राहत वितरणलगायत काम गरेको चर्चा गर्नुभयो । रासस












प्रतिक्रिया