काठमाडौं, २० असार । पेनाल्टी सुटआउटमा अर्जेन्टिनालाई पराजित गर्दै चिलीले पहिलो पटक कोपा अमेरिका फुटबलको उपाधि हात पारेको छ ।
आइतबार विहान भएको फाइनल खेलमा १४ पटकको विजेता अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै घरेलु टोली चिलीले उपाधि जितेको हो ।
चिलीका लागि एलेक्स सान्चेजले विजयी पेनाल्टी गोल गरेका थिए । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । ९० मिनेटपछिको खेलमा अर्जेन्टिनाका गोन्जालो हिगुइलले गोल गर्ने राम्रो अबसर खेल फालेका थिए ।

चिलीका सान्चेजले खेलको अन्तिमतिर गोल गर्ने राम्रो अबसर पाएका थिए । पेनाल्टी सुट आउटमा चिलीका माटिस फेर्नान्डेज र अर्जेन्टिनाका मेस्सीले गोल गरे । चिलीका भिडालले गोल गरे । तर, अर्जेन्टिनाका भरपर्दा स्ट्राइकर हिगुइनको प्रहार आकासियो ।
कार्लोसले गोल गर्दै घरेलु टोलीलाई ३–१ मा पु¥याए । अर्जेन्टिनाका इभर बनेगाको प्रहार चिलीका गोलरक्षक ब्राभोले रोके । लगतै चिलीका एलेक्स सान्चेजले गोल गर्दा चिलीले कोपा अमेरिकाको उपाधि आफ्नो कब्जामा लिएको हो ।
फुटबल इतिहासमा चिलीको यो अहिलेसम्मकै ठूलो उपाधि हो । अर्जेन्टिनाले भने २२ वर्षदेखि कोपा अमेरिका जित्न सकेको छैन । विश्वकपको फाइनलमा पनि गत वर्ष अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।















प्रतिक्रिया