काठमाडौँ, १४ असार । संविधान मस्यौदा समितिले संविधानसभामा पेस गर्ने प्रारम्भिक एकीकृत मस्यौदाको मधेसवादी दलले विरोध गरेका छन् ।
मधेस केन्द्रित दलको आज सिंहदरबारमा बसेको बैठकले ‘संविधानसभा नियमावली २०७०’ निलम्बन गरी द्रुत मार्गबाट संविधान निर्माण गर्ने बहानामा सार्वभौमसत्ता सम्पन्न जनता र जनभावना विपरित ठूला दल जान खोजेको भन्दै मस्यौदा च्यात्ने निर्णय गरेका हुन् ।
संविधानसभामा आज पेस गरिने मस्यौदाको कडा प्रतिरोध गरिने जानकारी दिँदै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले अन्तरिम संविधान २०६३ को भावना उल्लङ्घन गर्दै ठूला दलले ल्याएको मस्यौदा आदिवासी, जनताजी, मधेसी र सीमान्तकृत समुदायप्रतिको धोका भएको बताउनुभयो ।
प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिलाई प्रतिगमनकारी चरित्रको भएको आरोप लगाउँदै उनीहरूले तत्कालको अवस्थामा संविधान जारी गर्ने कार्य मान्य नहुने भन्दै सङ्घर्ष गर्न बाध्य हुने निष्कर्ष निकालेका छन् ।
ती दलले संविधानसभामा आज पेस गरिने मस्यौदा विगतमा भएका परिवर्तनकारी आन्दोलनको विरुद्धमा भएको भन्दै विरोध गर्ने निर्णय गरेको अध्यक्ष महत्तोले बताउनुभयो ।
बैठकमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष महत्तो, तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता राम नरेश रायलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।












प्रतिक्रिया