कपिलवस्तु, १३ असार । कपिलवस्तु जिल्ला अदालतले अवैध रुपमा रुख कटान गरी तस्करीमा संलग्न रहेको ठहर गर्दै इलाका वन कार्यालय मोतीपुरका सहायक वन अधिकृत शशीकान्त तिवारीलाई ६ महिना कैद र बिगोको दोब्बर रकम तिराउने फैसला गरेको छ ।
अभियुक्त तिवारीले मोतीपुरस्थित शृङ्गीघाट राष्ट्रिय वनबाट अवैध रुपमा वन कटान गरी निकासीमा संलग्न रहेको ठहर गर्दै उहाँलाई सो कैदसहित रु एक लाख १२ हजार जरिवाना पनि तोकेको छ ।
जिल्ला अदालतका न्यायाधीश किरणकुमार पोखे्रलको एकल इजलासले सो सजाय तोकेको श्रेस्तेदार ईश्वरी भण्डारीले बताउनुभयो ।
उहाँलाई वन ऐन, २०४९ को दफा ४९ घ बमोजिम सजाय तोकिएको भण्डारीले बताउनुभयो । त्यस्तै सो अपराधमा संलग्न अन्य चार जनालाई दुई÷दुई महिनाको कैद सजाय तोकिएको छ । दुई महिनाको कैद सजाय पाउनेमा धर्मबहादुर आले, चित्रबहादुर माझी, जौबहादुर विक र सुरज नेपाली छन् ।
यस्तै सो घटनाको अनुसन्धानमा संलग्न प्रहरी सहायक निरीक्षक भेषराज यादवलाई कर्तव्यपालनामा विचलित भएको भन्दै अदालतले सचेत गराउने निर्देशन दिएको श्रेस्तेदार भण्डारीले जानकारी दिनुभयो ।
यस्तै बरामद गरेको ७० दशमलव १२ क्युफिट काठसहित लु२प ४०३७ नम्बरको ट्याक्टर जफत गर्ने फैसलासमेत भएको छ ।












प्रतिक्रिया