२१ कार्तिक २०८३, शनिबार

प्राविधिकतर्फको एसएलसीको नतिजा सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slcभक्तपुर, १३ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्राविधिकतर्फको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएकामध्ये १५० जना छात्र र ६५ जना छात्रा गरी २१५ जनाले ग्रेड ‘ए प्लस’ हासिल गरेको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिनुभयो ।

त्यसैगरी ५१७ जना छात्र र २६२ जना छात्रा गरी ७७९ जनाले ग्रेड ‘ए’, एक हजार २५२ छात्र र ८७९ जना छात्रा गरी दुई हजार १३१ जनाले ग्रेड ‘बी’, ८८ जना छात्र र ३६ जना छात्रा गरी १२४ जनाले ग्रेड ‘सी’ तथा छात्र एक जनाले ग्रेड ‘डी’ स्थान हासिल गरेका छन् ।

ग्रेड ‘इ’ मा कोही पनि नआएको जानकारी दिँदै द्वारेले दुई जनाको परीक्षा रद्द भएको, चार जनाको परीक्षा स्थगित गरिएको र ३६ जना परीक्षामा सहभागिता नरहेको बताउनुभयो ।

कार्यालयका अनुसार नतिजामा ९० देखि सत प्रतिशत ल्याउनेले ग्रेड ‘ए प्लस’, ८० देखि ८९ प्रतिशत ल्याउनेले ग्रेड ‘ए’, ६० देखि ७९ प्रतिशत ल्याउनेले ग्रेड ‘बी’, ४० देखि ५९ प्रतिशत ल्याउनेले ग्रेड ‘सी’, र २५ देखि ३९ प्रतिशत ल्याउनेले ग्रेड ‘डी’ पाएका थिए ।

प्राविधिक विषयको पढाइ हुने ९९ वटा विद्यालयका दुई हजार ३८ जना छात्र र एक हजार ५५४ जना छात्रा गरी तीन हजार २९२ जनाले परीक्षा फाराम भरे पनि परीक्षामा भने दुई हजार १० जना छात्र र एक हजार २४६ जना छात्रा गरी तीन हजार २५६ जनाले परीक्षामा सहभागिता जनाएका थिए ।

कार्यालयले यसवर्षदेखि नमुनाको रुपमा ग्रेडिङ प्रणालीबाट अक्षराङ्क पद्धतिका आधारमा छवटा समूहमा नतिजा सार्वजनिक गरेको हो । नतिजामा ग्रेड ‘सी’ र सो भन्दा तलको ग्रेडमा परेर चित्त नबुझेका परीक्षार्थीले पूरक परीक्षासमेत दिने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक द्वारेले प्राविधिक एसएलसीसमेतको नतिजाका आधारमा अब एसएलसी उत्तीर्ण ४८.५० प्रतिशत नतिजा हासिल गरेको जानकारी दिनुभयो ।

कार्यालयले यही असार ४ गते सार्वजनिक गरेको एसएलसी परीक्षाको नतिजामा भने ४७ दशमलव ४३ प्रतिशत र आंशिकतर्फ १३ दशमलव ८० प्रतिशत परीक्षार्थी उतीर्ण भएका थिए ।

कार्यालयका अनुसार नियमिततर्फ चार लाख पाँच हजार ३३८ र आंशिकतर्फ एक लाख ३६ हजार ५१ जना गरी पाँच लाख ४१ हजार ३८९ जना परीक्षार्थीले परीक्षा दिएकामा नियमिततर्फ एक लाख ९२ हजार २६७ जना र आंशिकतर्फ १८ हजार ७७८ जना उतीर्ण भएका थिए ।

सरकारले शैक्षिक सत्र २०७० सालदेखि नमुनाको रुपमा कक्षा ९ देखि प्राविधिक विषयको पठनपाठन सुरु गरेको थियो । प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीका लागि पहिलोपटक २०७१ चैत्र ५ गतेदेखि १६ गतेसम्म सुरु भएको एसएलसी परीक्षामा ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्नेगरी सहभागी गराइएको थियो ।

आगामी साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन हुने एसएलसी परीक्षामा बिहान ८ बजेदेखि ११ बजेसम्ममा तालिकाअनुसार पूरक परीक्षा दिन पाउने व्यवस्था गरेको परीक्षा नियन्त्रक द्वारेले जानकारी दिनुभयो ।

कार्यालयले प्राविधिकतर्फको एसएलसी पूरक परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ ।

परीक्षार्थीले आज सार्वजनिक गरेको एसएलसी प्राविधिकको नतिजा नेपाल टेलिकमको १६०० मा डायल गरी निर्देशन अनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी ५५६६, ५००१, ७७२२, ४९४९, ५२२५, १६००, २३३३, ५००४, ७६७६, ३३३३३ मा एसएमएस डायल गरी नतिजा प्राप्त गर्न सकिने छ ।