– दीपक ओली
धनगढी, १२ असार । बिहीबार बिहानदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमको जनजीवन नराम्रो गरी प्रभावित भएको छ । वर्षाका कारण कैलाली र कञ्चनपुर जिल्लाका धेरैजसो भूभाग जलमग्न भएका छन् ।
वर्षा सँगै यहाँका महाकाली, कर्णाली, सेती नदी लगायत खोलानालामा पानीको सतह बढेर जग्गा कटानीका साथै सयौं वस्ती जोखिममा परेका छन् ।
अविरल वर्षाले तराईका कैलाली र कञ्चनपुर जिल्लाबाट सुदूरपश्चिमका सात ओटा पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्गको विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा प्रभावित भएको थियो । पहिरोले केहिबेर यातायात रोकिन पुगेपनि तत्कालै सुरक्षाकर्मी र सडक डिभिजन गोदावरीको लोडरले पहिरो पन्छाएर यातायात सेवा अबरुद्ध हुन नदिएको सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी रामकुमार खनालले बताए ।
लगातार वर्षाका कारण डोटीको बारपाटा गाविसमा घर भत्किँदा एक जनाको ज्यान गएको छ । बारपाटा गाविस–१ का ५२ वर्षीय परी बलायरको बिहीबार राति घर भत्किँदा च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
अविरल वर्षाका कारण दार्चुला सदरमुकाम बांगावगरमा रहेका तीन ओटा घर बगाएको छ । महाकाली नदीमा आएको बाढीले जिल्ला सदरमुकाम खलंगाको अपी नगरपालिका–११ बांगाबगडका गणेशसिंह बोहरा, हर्कसिंह महरा र गजैसिंह महराको घर बगाएको हो ।
२०७० सालको बाढीले तहसनहस पारेको दार्चुला सदरमुकाम क्षेत्रका बांगावगर, खलंगा र गल्फै क्षेत्रमा नदी नियन्त्रणका लागि भैरहेको तटबन्धमासमेत क्षति पुगेको सीमा सुरक्षा कार्यालय दार्चुका डीएसपी बीरसिंह शाहले बताए ।
गल्फै क्षेत्रमा निर्माण कार्यका लागि राखिएका निर्माण सामाग्री, ६० बोरा सिमेन्ट, १ थान मिक्स्चर मेसिन, १ थान भाइव्रेटर, ढलानको लागि तयारीमा राखिएको सटरिङ्ग लगायतका सामाग्रीहरु बगाएको राजेन्द्र निर्माण सेवाका प्रोप्राईटर भीमबहादुर साउँदले बताए ।
दार्चुलामा महाकाली नदीमा पानीको बहाव खतराको नजिक पुगेको बताउँदै प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले सम्पूर्ण सुरक्षा निकायहरुलाई हाईअलर्टमा राखेको बताए ।
त्यसैगरी, सोही स्थानमा रहेको कैलाशपति निमावि छाङ्गरु र ब्यांस गाविसको भवन लगायत एक दर्जन भवनहरु उच्चजोखिममा रहेका छन् । नदीको सतह बढिरहेकाले जोखिम बढेको भन्दै कैलाशपति निमावि तीन दिनका लागि बन्द गरिएको छ ।
उता, अविरल बर्षाका कारण कञ्चनपुर जलमग्न भएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा पनि पसेको छ । महेन्द्रनगर बजार आसपासका क्षेत्रसँगै भासी, बागवानी, ऐठपुर, बनखेत लगायतका ठाउँ पनि जलमग्न भएका छन् ।
महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमीनाका गड्डाचौकीमा प्रवेश निषेध गरिएको छ । शारदा ब्यारेज (बनबासा पुल) मा चार पांग्रे सवारी साधनलाई आवतजावत गर्न शुक्रबार बिहानैदेखि निषेध गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।
मापनअनुसार महाकाली नदीमा पानीको बहाव दुई लाख ५६ हजार क्युसेक पुगेको छ । बनबासा पुल जिर्ण अवस्थामा रहेकाले भारतीय पक्षले एक लाख पानीको क्युसेक पुग्नासाथ आवागमनमा रोक लगाउने गर्दछ । कञ्चनपुरको शंकरपुर गाविस ७ मा दोदा नदीको बाढीले कटान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यसैगरी कैलालीका पनि धेरै ठाउँ जलमग्न भएका छन् । सदरमुकाम धनगढी पूरै जलमग्न हुँदा आवतजावतमा समस्या भएको छ । धनगढी क्षेत्र नगरपालिकाको लापरवाहीका कारण जलमग्न हुनेगरेको स्थानीयको आरोप छ । धनगढी नगरपालिकाले ढल निकासमा ध्यान नदिँदा बजार क्षेत्र जलमग्न हुनेगरेको नगरवासीको भनाइ छ ।
अविरल वर्षाका कारण फूलवारीको ललितपुर वस्ती डुबानमा परेको छ । डुबानमा परेका त्यहाँका २५ घरपरिवारलाई उद्दार नजिकै विद्यालयमा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत चिरिञ्जीबी घिमिरेले बताए ।
‘परेवा क्षेत्र बिहान डुबानमा परी स्थानीय विस्थापित भएनि साझतिर पानी पर्न रोकिई पानीको सतह घटेपछि विस्थापित सवै आ आफ्नो घरमा फर्किसकेका छन्,’ प्रशासकीय अधिकृत घिमिरेले भने, ‘जिल्लामा रहेका दुई ठूला कर्णाली र मोहना नदीको पानीको सतह सामान्य रहेको छ ।’
जल तथा मौसम फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक राममणी मिश्रका अनुसार कैलालीमा मनसुन सुरु भएपछि बिहीबार विहानदेखि १ सय ४७ मिलिमिटर वर्षा भएको छ । अझै वर्षा बढ्ने सम्भावना रहेको मिश्रको भनाइ छ ।
वर्षासँगै बाढी आउने चेतावनीपछि ‘हाईअलर्ट’
यस्तै, मध्य तथा सुदूरपश्चिमका जिल्लामा भारी वर्षासँगै बाढी आउन सक्ने चेतावनीपछि सुदूरपश्चिमलाई ‘हाईअलर्ट’मा राखिएको छ ।
यहाँका नौ ओटै जिल्लामा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको बैठक बसी सवैलाई बाढीपहिरोबाट बच्न तयारीमा अवस्थामा वस्न अनुरोध गरेको छ ।
‘सम्पूर्ण जिल्लावासीहरु सजग र सुरक्षित रहन तथा सुरक्षा निकाय, सवै स्थानीय विपद् व्यवस्थापन समिति र कार्यदल एबम् नेपाल रेडक्रस सोसाइटी उपशाखाहरु, विभिन्न गैरसरकारी निकाय सबैलाई तयारी अवस्था ९हाईअलर्टमा० मा रहने र राख्ने निर्णय भएअनुसार सवै जिल्लामा हाईअलर्टमा राखिएको क्षेत्रीय प्रशासन कार्यालय डोटीले जनाएको छ ।
बढीपहिरोको जोखिममा रहेकाहरुलाई नजिकका रहेका सुरक्षाकर्मीको कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको पैसा नलाग्ने १०० नम्बर खबर गर्न क्षेत्रीय प्रशासन कार्यालयले सवैलाई अनुरोध गरेको छ ।
यता जिल्ला प्रशासन कार्यालय कैलालीले आपतकालिन अवस्थामा जिल्ला आपतकालिन कार्य संचालन केन्द्रको टेलिफोन नम्बर ०९१–५२१७०५ मा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रमा बुधबार र बिहीबार दुई दिन भारी मात्रामा वर्षा हुनसक्ने सम्भावना रहेको भविष्यवाणी गरेको थियो ।













प्रतिक्रिया