काठमाडौँ, १७ जेठ । भूकम्पपछि भत्किएको पानी ट्यांकी मर्मत गरिरहेका कामदारलाई बचाउन खोज्दा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका उपत्यका अध्यक्षको ज्यान गएको छ ।
युवा संघ नेपालका उपत्यका कमिटी अध्यक्ष राजेन्द्र श्रेष्ठको काठमाडौँको सांखुस्थित आफ्नै घरको पानी ट्यांकीमा ज्यान गएको हो । शनिबार बिहान आफ्नो घरको अन्डरग्राउण्डमा रहेको पानी ट्यांकी निर्माण गरिरहेका कामदार ट्यांकीमै फसेपछि उनलाई बचाउन राजेन्द्र इनारमा छिरेका थिए । तर, शनिबार राति साँढे १० बजेतिर प्रहरीले राजेन्द्र र कामदार (काठमाडौँ गोकर्णका ४७ बर्षीय शिव श्रेष्ठ) लाई मृत अबस्थामा निकालेको युवा संघकी अध्यक्ष समेत रहेकी एमाले केन्द्रीय सदस्य निरु पालले जानकारी दिइन् ।
राजेन्द्रको निधनमा युवा संघ नेपालले आइतबार बिहान काठमाडौँको शिक्षण अस्पतालमा शोकसभाको आयोजना गरेको थियो । उनको आइतबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल लगायतले पशुपति आर्यघाट पुगी श्रेष्ठको पार्थिब शरीरमा श्रद्धान्जली अर्पण गरेका थिए ।
३५ बर्षीय श्रेष्ठ युवा संघ काठमाडौँ जिल्ला कमिटीको कोषाध्यक्ष हुँदै उपत्यका अध्यक्ष बनेका थिए । बैशाख १२ गतेको विनाशकारी भूकम्पले आफ्नो घर भत्काएपनि पार्टीको स्वयंसेवक अभियानमा साथ दिँदै उनी घरटहरा पुनर्निर्माणमा सहभागी भएका थिए । तर, आफ्नो घर बनाउने भन्दै केही दिनका लागि बिदा मागेर फर्केका श्रेष्ठको निधनले युवा संघ शोकमा डुबेको संघका केन्द्रीय सदस्य विष्णु पोखरेलले बताए ।













प्रतिक्रिया