काठमाडौँ, १६ जेठ । अर्थमन्त्री डा रामशरण महतले काठमाडौँमा घर हुनेले गाउँको घर भत्किएबापत क्षतिपूर्ति नपाउने बताएका छन् ।
रिपोर्टर्स नेपालले राजधानीमा गरेको साक्षात्कारमा अर्थमन्त्री महतले दुई, तीन वटा घर भएका वा काठमाडौमा घर भएर गाउँको घर भत्किएकाहरुलाई सरकारले क्षतिपूर्ति नदिने बताएका हुन् ।
भूकम्पबाट ध्वष्त भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि दाताहरुसँग लामो समयको न्यून ब्याजको सफ्ट लोन र ग्रान्ट (अनुदान) मात्रै लिने अर्थमन्त्रीको भनाइ छ । दातृ निकायहरुको सम्मेलनको लागि दाताहरुको सूची बनाउने काम भइरहेको भन्दै उनले त्यसमा द्धिपक्षीय सम्बन्ध भएका निकाय र केही नयाँ निकायहरुलाई बोलाउने तयारी भइरहेको जानकारी दिए ।
मन्त्री महतले पुनर्निर्माणका लागि आन्तरिक ऋण लिने, करको दायरा बढाउने र खर्च कटौति गर्ने विषयमा पनि गृहकार्य भईरहेको भन्दै भूकम्पका कारण उत्पन्न समस्यालाई राष्ट्र निर्माणको अवसरको रुपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साउन महिनादेखि मुलुक नवनिर्माणको बाटोमा उत्साहको साथ लाग्ने विश्वास ब्यक्त गर्दै उनले भने– ‘हिजोको शहर ब्यवस्थित थिएन । त्यसैले यो नवनिर्माणको अवसर हो । अबको निर्माण ब्यवस्थित ढंगले गरिन्छ । पूर्वाधारसहितको ग्रामिण बस्ती विकास गरिन्छ ।’
हिजोको भन्दा राम्रो निर्माम गर्ने अवसर भएको भन्दै मन्त्री महतले सरकारले भूकम्प प्रतिरोधी घरको नक्सा र दुई लाख रुपैया दिएर पुर्ननिर्माणको कार्यलाई अघि बढाउने बताए। उनले भूकम्पबाट ५ सय देखि १ हजार अर्बसम्मको क्षति भएको प्रारम्भिक अनुमान ब्यक्त गरे ।













प्रतिक्रिया