काठमाडौँ, ४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पबाट नआत्तिन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
आफू घरभित्रै सुतेको भन्दै उहाँले भूकम्पको त्रास कम हुँदै गएकोले आत्मविश्वास बढाउन आग्रह गर्नुभएको हो ।
सोमबार नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले काठमाडौँमा गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले भूकम्प गएपछि आफू एकदिन पनि पालमा नसुतेको बताउनुभयो । भूकम्पको त्रासले व्यवसायीहरुले ठमेलस्थित मल्ल होटलको चौरमा कार्यक्रम गरेपछि उहाँले नआत्तिन सबैलाई आह्वान गर्नुभएको थियो ।
महाभूकम्पपछि पर्यटन क्षेत्रमा पुगेको असरका बारेमा छलफल गर्न आयोजित कार्यक्रममा अध्यक्ष ओलीलाई संगठनका अध्यक्ष चन्द्र रिजालले धराहराको पेन्टिङ उपलब्ध गराउनुभएको थियो । नयाँ बर्षको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले धराहरा चढ्नुभएको थियो ।
कार्यक्रममा संगठनका अध्यक्ष अध्यक्ष ओलीले नेपाली मौलिक शैलीमा धराहरा बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले कुनै विदेशी ट्रेड मार्क अंकित कम्पनीलाई नेपालको सांस्कृतिक सम्पदा बनाउन दिने कुरा एमालेलाई स्वीकार्य नहुने बताउनुभयो । नेपाली सांस्कृतिक सम्पदा नेपाल सरकारले नै मौलिक शैलीमा निर्माण गर्नुपर्ने बताउनुभयो ।
एमाले स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले पर्यटन क्षेत्रमा पुगेको क्षतिका विषयमा एमाले गम्भीर भएको बताउनुभयो । न्यौपानेले नवौँ महाधिवेशनबाट पर्यटन विभागको जिम्मेवारी पाएका एमाले केन्द्रीय सदस्य सूर्य थापालाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।
जिम्मेवारी ग्रहण गर्दै केन्द्रीय सदस्य थापाले पूर्वाधार क्षेत्रमा आगामी बजेटमा ५ प्रतिशत बजेट छुट्याउनुपर्ने बताउनुभयो । भत्केका सम्पदा बनाउन १० अर्बको कोष बनाउनुपर्ने भन्दै उहाँले धराहराको निर्माण राज्यले नै गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय पर्यटन व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्ष सीएन पाण्डेसचिवालय सदस्य कृष्ण अर्याल, बच्चुनारायण श्रेष्ठ लगायतले पर्यटन क्षेत्रमा गम्भीर बन्न राज्यको ध्यानाकर्षण गर्नुभयो ।












प्रतिक्रिया