– सुदीप अधिकारी
बर्दिया, ३१ वैशाख । बर्दियामा तीन दिनदेखी टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने राजमार्गसँग जोडिएका भुरीगाँउ, ठाकुरद्धारा, कतरनिया, बाँसगढी लगाएतका क्षेत्रमा सोमवार बेलुकादेखि नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको हो । तीन दिन बित्दा पनी नेपाल टेलिकमको सेवा सुचारु गर्न नसकेको भन्दै स्थानियबासी आक्रोशित भएका छन् ।
जिल्लाको भुरीगाँउमा रहेको नेपाल टेलीकम टावर आसपास नजिक सोमवार राति परेको ठुलो चट्याङका कारण टेलीकमको मेसीनमा खरावी आएकाले जिएसएम, सिडीएमए, र ल्याण्डलाईन फोन सेवा अबरुद्ध भएको टेलिकमले जनाएको छ । सेवा अवरुद्ध भए लगत्तै मर्मतका लागि नेपालगंजबाट प्राविधिकको टोली आएपनि समस्या पत्ता लगाउन नसकेको भन्दै टोली फर्कीएको छ ।
नेपालगंजबाट बुधवार दिउसो आएको ४ जनाको प्राविधिक टोलीले २ घण्टा भित्र फोन सेवा सुचारु हुने बताएपनि अबेर राती सम्म पनि बनाउन नसकेको नेपाल टेलिकम शाखा भुरीगाँउका कर्मचारी भक्त भण्डारीले बताए ।
टेलिकमले सेवा सुचारु गर्न ढिलाई गर्नाले आफन्तसँग टेलिफोन सम्पर्क गर्नबाट आफूहरु वञ्चित भएको स्थानियबासीको भनाई छ । बैशाख २९ गते पुनः आएको भूकम्प पछि यहाँका जनताले आफन्तसँग फोन सम्पर्क गर्न पाएका छैनन् ।
३ दिन बित्दा पनि सेवा सुचारु नगरेको भन्दै आक्रोशित स्थानियबासीले तत्काल सेवा सुचारु गर्न माग गरेका छन् । फोनसँगै इन्टरनेट सेवा पनि बन्द हुँदा यहाँको बैँक तथा वित्तिय क्षेत्रको सेवामा समेत असर परेको छ ।
















प्रतिक्रिया