– रबिना बोहरा
बागलुङ, ७ वैशाख । जिल्ला कर कार्यालय बागलुङले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा ७ करोड बढी राजश्व रकम संकलन गरेको छ ।
जिल्ला कर कार्यालय बागलुङका कर अधिकृत डिल्ली पौडेलले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म ७ करोड २१ लाख रुपैया कर संकलन गरेको बताउनुभयो । गतबर्षको तुलनामा अहिले राजश्व रकम बृद्धि भएको उहाँको भनाई थियो ।
गतबर्ष कार्यालयबाट विभिन्न करहरुमा संकलन गर्ने रकममा चैत्र मसान्तसम्म कुल ६ करोड ९० लाख रुपैँया संकलन भएको थियो । चैत्र मसान्तसम्म ८ करोड ६३ लाखको राजश्व रकम संकलन गर्ने लक्ष्य राखेकोमा ७ करोड २१ लाख रुपैया संकलन गरिएको पौडेलको भनाई थियो । पौडेलले लक्ष्य बराबरको रकम संकलन गर्न नसकिएको भन्दै चालु आर्थिक बर्षको असार मसान्तसम्ममा सबै कर रकम संकलन गरिसक्ने लक्ष्य लिएको बताउनुभयो ।
चैत्र मसान्तसम्म संकलित कुल रकम मध्य आयकरमा ५ करोड ४१ लाख रुपैया, मुअकरमा १ करोड ४७ लाख रुपैया, अन्तशुल्कमा २५ हजार रुपैया, स्वास्थ्य सेवामा १ लाख ४७ हजार र शिक्षा सेवामा ७ लाख रुपैया राजश्व रकम संकलन गरिएको कर अधिकृत पौडेलको भनाई छ ।
पौडेलले गतसाल शिक्षा सेवामा र सहकारीमा छुट सुविधा भएकाले धेरै राजश्व रकम संकलन भएको भन्दै अहिले छुट सुविधा नहुदा र केहि करदाताहरुले पोखराबाटै कर तिरेको हुदा अहिले राजश्व कम उठेको बताउनुभयो ।
कार्यालयले बिलबिजक जारी नगरेकाहरुलाई भोलीबाट अनुगमन गर्ने भन्दै जारी नगरेको पाईएमा तत्काल कारोबार स्थलमा नै जरिवाना तिर्न लगाउने पौडेलले बताउनुभयो ।
















प्रतिक्रिया