बागलुङ, २९ चैत । बागलुङ क्षेत्र नं १ मा शनिबार भएको संविधानसभा सदस्य उपनिर्वाचनको मतगणना अझै सुरु हुन सकेको छैन् ।
एमालेले आफ्नो जुलुसमा हस्तक्षेप गरी दर्जन कार्यकर्ता घाइते बनाउने प्रहरीका सई शैलेन्द्र खड्कालाई कारबाही र आफ्ना पक्राउ परेका कार्यकर्तालाई रिहा गर्न शर्त राखेपछि मतगणना सुरु हुन नसकेको हो । निर्वाचनको अघिल्लो दिन दलित बस्तीमा पैसा बाँड्दै गरेको अवस्थामा भेटिएका काँग्रेस कार्यकर्ता रामजी नेपालीलाई कुटपिट गरेको आरोपमा प्रहरीले बानपा १ का युवाहरुलाई पक्राउ गरेको थियो । एमाले नेताहरुले स्थानीय प्रशासनसँग छलफल गरिरहेका छन् ।
यता, मतगणनाका लागि निर्वाचन कार्यालय तयारी थालेको छ । सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए । गणना सुरु भएको पाँच घन्टाभित्रमा परिणाम सार्वजनिक हुने उनले बताए ।
कुल ५२ हजार २०२ मतदातामध्ये करिब ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गए राति १२ बजेभित्र सबै मतदान केन्द्रबाट मतदान उपकरण सदरमुकाम आइसकेको छ ।
उन्नाइस गाविस र एक नगरपालिकाका ३५ मतदानस्थलमा रहेका ७० मतदान केन्द्रमा मतदान भएको थियो । राजनीतिक दलका १० र तीन स्वतन्त्र गरी १३ उम्मेदवार उपनिर्वाचनको मैदानमा छन् ।
यसअघिको संविधानसभा निर्वाचनमा विजयी नेपाली काँग्रेसका सभासद् हरिबहादुर खड्काकी श्रीमती चम्पादेवी, नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य मनाकुमारी केसी, एकीकृत नेकपा माओवादीका कृष्णबहादुर केसी, राष्ट्रिय जनमोर्चाका नेत्रबहादुर बुढाथोकी, राप्रपा नेपाल र राप्रपाबाट साझा उम्मेदवार नवीनचन्द्र गर्वुजा मगर र नेपाल परिवार दलका बाबुराम शर्मा उम्मेदवार रहेका छन् ।
यस्तै नेकपा मालेका कुलबहादुर किसान, सङ्घीय समाजवादी पार्टीका रेशम थापा मगर, राष्ट्रवादी एकता पार्टीका क्षेत्रप्रताप थापा र राष्ट्रिय जनमुक्ति पार्टीका रुकबहादुर पुन उम्मदेवार रहेका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा तुलसी थापा, नैना केसी र सरस्वती पन्त रहेका छन् ।
गत निर्वाचनमा काँग्रेसका खड्का १३ हजार ५०० मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हिराबहादुर खत्रीले ११ हजार ९६३, एमाओवादीका कृष्ण केसीले छ हजार ३ र राष्ट्रिय जनमोर्चाका तीर्थसिंह थापाले दुई हजार १५९ मत ल्याएका थिए ।













प्रतिक्रिया