काठमाडौँ, १९ चैत । शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसी र सरकारी पक्षबीच सहमति भएको छ । सहमतिसँगै डा. केसीले अनशन फिर्ता लिएका छन् ।
केसी केही मागमा परिमार्जन गर्न सहमत भएपछि बिहीबार मध्यान्ह सहमति भएको हो । सहमतिअनुसार आगामी शैक्षिकसत्रदेखि सरकारमातहतका हरेक कलेजमा पोष्ट ग्रयाजृुयट (पीजी) निःशुल्क गरिने भएको छ भने चिकित्सा विश्वविद्यालय खोल्न तीन महिनाभित्र संसदमा प्रस्ताव लगिनेछ ।
सहमतिसँगै डा केसीको समर्थनमा स्वास्थ्य संस्था बन्द गर्दै आएको नेपाल चिकित्सक संघले आफ्ना सबै कार्यक्रम फिर्ता लिएको छ ।
यस्तो छ सरकारसँग भएको सहमति
१. केदारभक्त माथेमा संयोजक रहेको समितिबाट प्रतिवेदन प्राप्त भई स्वास्थ्य शिक्षा नीति बनेपछि सोही बमोजिम हुने गरी नीति र कानुन नबनेसम्म सम्बन्धन दिने र विस्तार गर्नेसम्बन्धी कुनै कामकारवाही नगर्ने । अनियमितता छानबिन गर्न गठित जयराम गिरी नेतृत्वको समितिले दिएको प्रतिवेदन कारवाहीका लागि अख्तियारमा पठाउने ।
२. चिकित्साशास्त्र अध्ययन संस्थान टुक्र्याउने गरी भएको सिनेटको निर्णय नगर्न कुलपतिबाट पत्राचार भैसकेको, चिकित्साशास्त्र सम्बन्धी आशयपत्र, सम्बन्धन, विस्तारित कार्यक्रम, योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना, सिट थपघट र शुल्क सम्बन्धमा त्रिवि, केयु र नेपाल मेडिकल काउन्सिलबाट भए गरेका कामकारवाहीका विषयमा छानबिन गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न पुनरावेदन अदालतका पूर्व न्यायाधीश संयोजक रहेको एक छानबिन आयोग ७ दिनभित्र गठन गर्ने । समितिका सिफारिस अविलम्ब कार्यान्वयन गर्ने ।
३. चिकित्सा विश्वविद्यालयसम्बन्धी विधेयक आगामी तीनमहिनाभित्र संसदमा पेश गर्ने । स्वास्थ्य शिक्षा नीति निमार््णका लागि बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्ने ।
४. शिक्षा क्षेत्रका पदाधिकारीहरु विशिष्टितता र वस्तुगतका आधारमा नियुक्त गर्ने राजनीतिक प्रतिबद्धता गर्ने र सो प्रतिबद्धता कार्याृन्वयन गर्न चार महिनाभित्र कानुनी व्यवस्था गर्ने ।
५. मापदण्ड पूरा नगर्ने मेडिकल कलेजलाई पुनमुल्यांकन गरेर डिअफिलियट गर्न सकिने नीतिगत व्यवस्था गर्न केदारभक्त माथृेमा संयोजक रहेको समितिलाई कार्यादेश थप्ने ।
६. स्वास्थ्य सेवाका लागि आवश्यक चिकित्साशास्त्र र अन्य सम्पूर्ण विषयका सबै कोर्षका सबै तहमा वैज्ञानिक शुल्क निर्धारण गर्न केदारभक्त माथेमा समितिलाई थप क्षेत्राधिकार दिने र सो सिफारिस आगामी शैक्षिक सत्रदेखि लागू गर्ने
७. सरकारी शिक्षण संस्थाहरुमा एमडि÷एमएस, एमडिएस, डिएम र एमसिएच तहका शैक्षिक सत्र २०७२/७३ देखि अध्ययन गर्ने विद्यार्थीलाई समावेश गर्ने गरी निःशुल्क गर्ने, त्यसका लागि कार्यविधि र बजेटको व्यवस्था आगामी आवदेखि स्वास्थ्य मन्त्रालयले गर्ने, निजी कलेजको सम्बन्धमा केदारभक्त माथेमा आयोगले गरेबमोजिम हुने ।
८. पाँचै विकास क्षेत्रमा आगामी ५वर्षमा कम्तीमा एक–एक सरकारी मेडिकल कलेज हुने नीति लिने र आगामी आवमा मध्यमान्चलमा एक मेडिकल कलेज स्थापना अगाडि बढाउने ।
९. काठमाडौं विश्वविद्यालयबाट दिइएको विस्तारित कार्यक्रमका सम्बन्धमा कानुनी प्रक्रिया पु¥याई स्थगन गराउनेतर्फ कारवाही चलाउने र तत्पश्चात अध्ययनरत विद्यार्थीको उपयुक्त व्यवस्थापन गर्ने ।
१०. नेपाल चिकित्सक संघसंग गरिएका सम्झौता र उक्त संघले उठाएका मागप्रति यहाँ सम्झौता भएका मागहरु यसैअनुसार हुने र बाँकी विषयमा मन्त्रालयमा सम्बोधन र कार्यान्वयनका लागि लेखिपठाउने । उपर्युक्त सहमति अनुगमनका लागि नेपाल सरकारका मुख्य सचिवको संयोजकत्वमा नेपाल चिकित्सक संघका अध्यक्ष र प्राडा वाइपि सिंह सदस्य रहेको एक कार्यदल गठन गर्ने । डा. गोविन्द केसीले विभिन्न माग राखी गर्नुभएको अनसन र चिकित्सक संघले आव्हान गरेको आन्दोलन आजैका मितिदेखि समाप्त गर्ने ।
यस्ता थिए डा. केसीका माग
१. विगतका प्रतिबद्धता र सम्झौता विरुद्ध चिकित्सा शिक्षा नीति र चिकित्सा विश्वविद्यालयको निर्माण हुनुअघि नै नयाँ सम्बन्धन दिन मिल्ने गरी प्रधानमन्त्रीले शिक्षा मन्त्रीलाई, शिक्षा मन्त्रीले त्रिविलाई र त्रिविले आइओएमलाई चिठी लेखिएकोमा ती तीनवटै चिठी लेख्ने निर्णयहरु तुरुन्त रद्द गरी नयाँ नीति र विश्वविद्यालय निर्माण नहुन्जेल कुनै पनि नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने राज्यको विगतदेखिको नीतिलाई तुरुन्त कार्यान्वयन गरियोस् । साथै संविधान निर्माणको काम छाडेर निहित स्वार्थका लागि संविधान सभा नै अवरुद्ध गर्ने धम्की दिई सरकारलाई गैर९क़ानूनी कामका लागि अवांछित दबाब दिने सभासद्हरुलाई कारवाही गर्दै मेडिकल कलेज सम्बन्धन सम्बन्धी संसदीय समितिले दिएको गलत र बदनीयतपूर्ण सुझाव बदर गरियोस् ।
२. विगतदेखि निरन्तर मेडिकल कलेज सम्बन्धन लगायतका प्रकरणमा अनियमितता तथा भ्रष्ट गतिविधिमा संलग्न भएका त्रि वि पदाधिकारीहरुले विगतको सहमतिबमोजिम आइओएमलाई स्वायत्तता दिनको बदला पछिल्लो समयमाा आइओएम नै टुक्र्याउने दुस्प्रयास गरेकाले उक्त कदम अविलम्ब सच्याउँदै दोषी पदाधिकारीहरुलाई तत्काल पदच्युत गरेर कारवाही गरियोस् । साथै भ्रष्टाचार र चरम अनियमिततामा संलग्न भएको भनेर सरकारले गठन गरेको उच्चस्तरीय समितिले तोकेरै भनेका आइओएमका भ्रष्ट पूर्वपदाधिकारीहरुलाई पनि तत्काल कारवाही गरियोस् । विगतमा आइओएमलाई बाइपास गरेर फ्याकल्टी बोर्डको निर्णयविरुद्ध अनुगमनमा जाने र पूर्वाधार पुग्यो भनेर फर्जी रिपोर्ट दिने व्यक्तिहरुमाथि पनि तुरुन्त छानविन र कारवाही होस् ।
३. विगतका सहमति बमोजिम चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिले प्रतिवेदन बुझाइसकेको तथा उक्त दुवै प्रतिवेदनहरु कार्यान्वयन गर्ने मन्त्रीमण्डलस्तरीय निर्णय भइसकेकाले उक्त निर्णय तत्काल कार्यान्वयन गरियोस् ।
४. राष्ट्रिय चिकित्सा तथा स्वास्थ्य शिक्षा नीति ९चिकित्सालगायत नर्सिङ, पब्लिक हेल्थ र प्यारामेडिकल कोर्सहरुलाई समेटने गरी० निर्माणका लागि समिति बनिसकेकाले उक्त समितिले रिपोर्ट बुझाउनासाथ त्यसलाई तत्काल कार्यान्वयन गर्दै स्वस्थ्य क्षेत्रका सबै कोर्सहरुको गुणस्तर सुनिश्चित गरियोस् ।
५. विगतका सहमति तथा मन्त्रीमण्डलकै निर्णयविपरीत केयुले हालै दुई मेडिकल कलेजलाई सम्बन्धन दिएकाले त्यसका लागि जिम्मेवार केयुका पदाधिकारीहरुलाई उचित कारवाही गर्दै नयाँ चिकित्सा नीति नबंदासम्म उक्त सम्बन्धन रोकियोस् । साथै उक्त सम्बन्धन प्रकरणमा अदुअआ प्रमुखले आफ्नो अख्तियार दुरुपयोग गर्दै सम्बन्धनका लागि अवान्छित दबाब दिएको भन्ने आरोप लागेकाले उक्त आरोपबारे छानविन गरियोस् र त्यस्तो दबाब दिएको पाइएमा अख्तियार प्रमुखमाथि पनि कानुन बमोजिम कारवाही गरियोस् । साथै अख्तियारले ससाना भ्रष्टरुलाई कारवाही गर्ने तर ठुला भ्रस्टलाई नछुने गर्दा चरम दण्डहीनता सिर्जना भएकाले त्यस विषयमा पानी छानबिन र कारवाही गरियोस्। साथै पटक पटक राज्यले गरेका समझौता उल्लंघन गर्ने शिक्षा मन्त्रीमाथि पनि उचित कारवाही होस् ।
६. देशमा कायम निजी मेडिकल कलेजहरुको गुणस्तर कायम राख्न मेडिकल काउन्सिल तथा दुवै विश्वविद्यालय उत्तिकै उदासीन हुँदा भद्रगोलको स्थिति छ । यो अवस्थामा अनुगमनपछि सन्तोषजनक नपाइएका कलेजमा सीट घटाउनको सट्टा झन् बढाइएकाले किन त्यो अवस्था आयो, त्यसको तुरुन्त छानविन गरेर काउन्सिल र विश्वविद्यालयले साँठगाँठ गरेर गुणस्तरमा सम्झौता गरेको पाइएमा दोषीहरुलाई तत्काल कारवाही गरियोस् ।
७. काउन्सिल र विश्वविद्यालयले लिने विशुद्ध प्राविधिक निर्णयहरुमा अदालतले बारम्बार अवाञ्छित हस्तक्षेप गर्दै गुणस्तर नपुगेका कलेजहरुमा सीट घटाउन नमिल्ने तथा अनिवार्य प्रवेश परीक्षामै नबसेका व फेल भएका विद्यार्थीहरुलाई पढाउन पाउने भन्ने फैसला गरेर निरपेक्ष दण्डहीनताको अवस्था सिर्जना गरेकाले त्यस्ता फैसलाहरु बारे कानुनबमोजिम छानविन गरेर कारवाही गरियोस् ।
८. त्रि वि, आइओएम, न्याम्स लगायतका नेतृत्वदायी र नियामक संस्थाहरुमा पदाधिकारीहरु नियुक्त गर्दा दलीय वफादारीको आधारमा नभएर वरिष्ठता र कार्य क्षमताको आधारमा नियुक्त गर्ने व्यवस्था गरियोस् । नेपाल मेडिकल मेडिकल काउन्सिलले अनुगमन र अध्ययनविनै नयाँ मेडिकल कलेज खुल्न दिनेसम्बन्धी ‘सकारात्मक राय’ दिएकाले भ्रष्टाचार प्रमाणित भइसकेका र दलीय वफादारीका कारण नियुक्त भएका काउन्सिल अध्यक्षलगायतका पदाधिकारीहरुलाई तुरुन्त बर्खास्त गरियोस् । साथै काउन्सिल नेतृत्वमा वरिष्ठ र स्वच्छ छवि भएका चिकित्सकहरुलाई ल्याउने व्यवस्था गर्न हाल कायम नियम कानुनमा त्यस अनुसारको सुधार गरियोस् ।
९. आम मानिसका लागि सर्व सुलभ स्वास्थ्य सेवा पुर्याउने जिम्मेवारी राज्यको भएकाले त्यसका लागि दीर्घकालीन नीती लिएर कार्यान्वयन शुरू गरियोस्। त्यस प्रयोजनका लागि चिकित्सा तथा नर्सिङ र प्यारामेडिकल कोर्सहरुमा विद्यार्थीलाई निःशुल्क वा न्यूनतम शुल्कमा पढाउने व्यवस्था गरियोस् । चिकित्साका स्नातकोत्तर र सोभन्दा माथिका तहलाई तत्काल पूर्ण निःशुल्क गरियोस् ।
१0. ग्रामीण क्षेत्रमा सरकारी पहलमा मेडिकल कलेज खोल्ने सम्झौता भएकोमा तुरुन्त उक्त समझौता कार्यान्वयन गरियोस्।
यो पनि पढ्नुहोस्:
डा गोविन्द केसीले जुत्ता सिलाउने र बिरामीको हातबाट जुस पिएर अनशन तोडे
















प्रतिक्रिया