– कमलराज भट्ट / दैनिक नेपाल
काठमाडौं, १८ चैत । गत साता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकछिन झस्किए ।

आफ्नो निवासमा स्वागत गर्नासाथ एमाले अध्यक्ष ओली ‘खै–खै तपाईंको कोटमा राष्ट्रिय झण्डा अंकित लोगो रहेनछ, म लगाइदिन्छु’ भनेर अघि सरे । ओलीको त्यो गतिविधि देखेर प्रचण्ड केही समय त आश्चर्यचकितझैँ देखिए । ओलीले आफूले ‘राष्ट्रियता अभियान’ सुरुवात गरेको बेलीविस्तार गरेपछि प्रचण्डले भने–‘वास्तवमा तपाईं महान हुनुहुन्छ, राष्ट्रियताको भाव झल्काइ दिनुभएकोमा मलाई हृदयदेखि नै खुसी लागेको छ ।’ बालकोट स्रोतका अनुसार, त्यसपछि मात्र दुई नेताका बीचमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको थियो ।
त्यसको केही दिनपछि प्रचण्ड चीन गएको बेलामा एमाओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे । त्यतिबेला पनि ओलीले त्यही गरे, जुन प्रचण्डलाई गरेका थिए । उनले राष्ट्रिय झण्डा अंकित लोगो लगाइदिएर बाबुरामलाई स्वागत गरेका थिए । ओलीको त्यो स्वागतले बाबुराम एकछिन टोलाएको टोलयै भए ।
एमाओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री भट्टराईले पनि ओलीलाई धन्यवादसहित प्रशंसा गरे । ‘हराउँदै गएको देशभक्तिको भावनालाई उजागर गर्न चाल्नुभएको कदमले मलाई अन्यन्तै खुसी बनाएको छ ।’ भट्टराईले भनेका थिए ।
भेटवार्ताका लागि पछिल्लो शनिबार बालकोटस्थित आफ्नै निवासमा आइपुगेका प्रधानमन्त्री सुशील कोइरालालाई पनि उनले राष्ट्रिय झण्डा अंकित लोगो लगाइदिए । प्रधानमन्त्रीको स्वागतमा बसेका अध्यक्ष ओलीले पहिले कोइरालालाई राष्ट्रिय झण्डा अंकित लोगो लगाइदिए अनि बल्ल वार्ताका लागि टेबलमा बसे । त्यो गतिविधि देखेर प्रधानमन्त्री कोइरालाले भने–‘यो उमेरमा राष्ट्रियता उजागर गर्ने सकारात्मक भावनालाई म कदर गर्दछु, यो अभियानले मेरो शिर उचो बनाएको छ ।’
ओलीले यो अभियान सुरु गरेको चार महिना भयो । पार्टीको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललाई राष्ट्रिय झण्डा अंकित लोगो लगाइदिएर उनले यो अभियान थालेका थिए ।
अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार, पार्टी केन्द्रीय कार्यालयमा होस् या निजी निवासमा, आफ्ना पाहुनालाई स्वागत गर्नुअघि ओलीले आजकल यसरी नै राष्ट्रिय झण्डा अंकित लोगो लगाइदिन थालेका छन् ।
शनिबार नै एमाओवादी छाडेर एमाले फर्किएका डा. डिल्लीराज खनाललाई पार्टी भित्र्याउँदा पनि अध्यक्ष ओलीले उनलाई राष्ट्रिय झण्डा अंकित लोगो लगाइदिए । पार्टी भित्रको अन्तरसंघर्षका कारण बोलचाल नै बन्द भएको भनिएका पार्टीका नेता माधवकुमार नेपाललाई पनि उनले त्यही कार्यक्रममा ‘खोइ-खोइ तपाईंको कोटमा राष्ट्रिय झण्डा अंकित लोगो रहनेछ’ भन्दै लगाइदिएका थिए । कार्यक्रममा नेपालले ओलीको खुलेरै प्रशंसा गरेका थिए ।
किन लोगो बाँड्दैछन् ओली ?
अध्यक्ष ओलीले यो अभियान सुरु गरेको चार महिना भयो । पार्टीको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललाई राष्ट्रिय झण्डा अंकित लोगो लगाइदिएर उनले यो अभियान थालेका थिए ।
‘नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगलिक अखण्डता, राष्ट्रियता, स्वाभिमानलाई नेपालीहरुको बीचमा मौजुदा रहेको देशभक्तिको भावनालाई प्रकट गराउन तथा थप सुदृढ बनाउन अध्यक्ष कमरेडले राष्ट्रिय झण्डा अंकित लोगो बाँडेर राष्ट्रियताको अभियान सुरु गर्नुभएको हो ।’ अध्यक्ष ओलीका स्वकीय सचिव आचार्यले दैनिक नेपालसँग भने ।
नेपालको राजनीतिमा ओलीका मुद्दा लोकप्रिय हुँदै गइरहेको बेला उनको अभियानले पार्टी भित्र र बाहिर झनै समर्थन मिलिरहेको छ । अधिकांश समय अध्यक्ष ओलीसँगै रहने आचार्य निवासमा आउनेहरु ‘राष्ट्रियताको मुद्दा उठाउनुभएकोमा खुसी छौं, हजुरलाई धन्यवाद छ’ भन्ने गर्छन् ।
पछिल्लो समय जात र धर्मका नाममा जनताहरुबीच झगडा निम्त्याउने र देशलाई कमजोर बनाउने खेलमा केही शक्तिहरु लागेपछि नेता ओलीले यस्तो राष्ट्रवादी अभियानको सुरुवात गरेका हुन् । ‘यो अभियानले प्रत्येक नागरिकमा राष्ट्रियता र अखण्डताको भावलाई उत्प्रेरित गर्छ ।’, स्वकीय सचिव आचार्य भन्छन्, ‘प्रत्येक जातिले सम्मानपूर्वक बाँच्न पाउन, प्रत्येक भाषभाषीले आफू हेपिएको महसुस हुन नदिन, आमनागरिकमा मौजुदा रहेको देशभक्तिको भावना प्रकट गराउन र थप सुदृढ बनाउन अध्यक्षज्यू गम्भीर हुनुहन्छ । जातीय, भाषिक वितृष्णा फैलाउने, क्षेत्रीयताका कुरा उठिरहेका बेला समाजिक सद्भाव कायम गर्न, स्वतन्त्रता जोगाउन यो अभियानले मद्दत पुर्याउँछ ।’
आचार्यका अनुसार, स्थायी कमिटीका सदस्य, एमालेतर्फबाट नेपाल सरकारमा रहेका मन्त्रीहरुलाई पनि अध्यक्ष ओलीले यसअघि नै राष्ट्रिय झण्डा अंकित लोगो लगाइदिएका छन् ।
नेपालको राजनीतिमा ओलीका मुद्दा लोकप्रिय हुँदै गइरहेको बेला उनको अभियानले पार्टी भित्र र बाहिर झनै समर्थन मिलिरहेको छ । अधिकांश समय अध्यक्ष ओलीसँगै रहने आचार्यका अनुसार निवासमा आउनेहरु ‘राष्ट्रियताको मुद्दा उठाउनुभएकोमा खुसी छौं, हजुरलाई धन्यवाद छ’ भन्ने गर्छन् । प्रत्येक नेपाली विभिन्न सरकारी निकायमा कार्यरत भएपनि निर्णयमा भने राष्ट्रियता र देशभक्तिको भाव नझल्किएकोमा ओली चिन्ता व्यक्त गर्छन् ।
एमाले अध्यक्ष ओलीले अभियानलाई आफूसँगै विभिन्न ठाउँमा पुर्याएका छन् । आफू सहभागी हुने कार्यक्रममा राष्ट्रिय झण्डा अंकित लोगोका साथै राष्ट्रिय गान समेत गाउने गरेका छन् । बितेको चार महिनामा मात्र उनले करिब २ हजार विशिष्ट व्यक्तिहरुलाई राष्ट्रिय झण्डा अंकित लोगो लगाइदिएका छन् । पार्टीको अध्यक्षका हैसियतले सुरुवात गरिएको यो अभियानलाई अन्य कार्यक्रम तथा बैठकहरुबाट प्रचारप्रसार गरिने स्वकीय सचिव आचार्यले बताए ।
अस्वस्थताका बाबजुद पनि राष्ट्रियता र अखण्डताका विषयमा एमाले अध्यक्ष ओली खरो रुपमा प्रस्तुत हुन थालेका छन् । बहुपहिचानसहितको संघियताको पक्षमा उभिएका उनी जातीय राज्यका विरोधी हुन् । जसका कारण गत माघ ८ गतेको संविधानसभाको बैठकमा उनीमाथि आक्रमणको प्रयास समेत भएको थियो ।
जातको राज्य बाँड्दा त्यसले देशलाई कमजोर बनाउने भन्दै पछाडि परेका जातजातिहरुको लागि उन्नतीका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने ओलीको तर्क छ । उनले राष्ट्रियता र अखण्डताका लागि मर्न तयार रहेको तर कुनै हालतमा सम्झौता नगर्ने बताउँदै आएका छन् । आफ्नो मुद्दामा अडिग रहने उनको बानीलाई विपक्षीहरु समेत तारिफ गर्छन् । राष्ट्रियताका पक्षमा उनले खेलेको भूमिकालाई लिएर कतिले त उनलाई पृथ्बीनारायण शाहझैँ बन्न सुझाव दिन्छन् ।
केही दिन अघि उनको ६६ औँ जन्मदिनमा प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले एकातिर पृथ्बीनारायण शाहको तस्वीर र अर्कोतिर ओलीको तस्वीर रहेको नेपालको नक्सा उपहार दिएका थिए । त्यतिबेला ओलीले नेपालको नक्सालाई आफूले रक्षा गर्ने बताएका थिए । सोही दिन सिस्नोपानी नेपालले पृथ्बीनारायण शाहले झैँ औँला उठाएको उनको तस्वीर उपहार दिएको थियो । अध्यक्ष ओलीको बैठक कक्ष अहिले राष्ट्रियताले ओतप्रोत सामाग्रीहरुले भरिएको छ ।
प्रशंसनीय र महत्वपूर्ण : ज्ञवाली
अध्यक्ष ओलीका निकट मानिएका नेकपा एमालेका सचिव प्रदीप ज्ञवाली अहिलेको परिस्थतिमा उनले थालेको राष्ट्रवादी अभियान निकै प्रशंसनीय र महत्वपूर्ण रहेको बताउँछन् । भन्छन्, ‘जात, जाति र क्षेत्रका आधारमा राष्ट्रियता साँघुरो भइरहेको अवस्थामा राष्ट्रिय झण्डा अंकित लोगो बाँडेर राष्ट्रियता जोगाउन सबैलाई एकजुट बनाउने अध्यक्ष कमरेडको अभियान सकारात्मक छ ।’
अहिले केही तत्वहरुले पहिचानको नाममा देशलाई खण्ड–खण्ड बनाउने प्रयत्न गरिरहेको भन्दै ज्ञवालीले थपे– ‘मधेसी, बाहुन, क्षेत्री, लिम्बु आदि जात–जातिले आफ्नो जातमा मात्रै गर्व गर्ने र नेपाली हुँ भनेर गर्व नगर्ने अवस्था सिर्जना भएको छ । यस्तो जटिल समयमा राष्ट्रियताको भाव जगाउन अभियानको महत्व एकदमै धेरै । यद्यपी राष्ट्रिय झण्डा लगाउँदैमा राष्ट्रिवादी नभइएला तर सबै नेपालीलाई एकजुट बनाउन यो अभियान निकै राम्रो सुरुवात हो ।’
अध्यक्ष ओलीले सुरुवात गरेको यो अभियानलाई पार्टीले निरन्तर अगाडि बढाउने ज्ञवालीले बताए ।
अध्यक्षलाई इतिहासले एउटा मौका दिएको छ: भट्टराई
प्रचार विभागका प्रमुख समेत रहेका एमालेका सचिव योगेश भट्टराई अध्यक्ष ओलीलाई केही दिन अघि आफूले दिएको सुझावलाई यसरी स्मरण गर्छनः तपाईंलाई इतिहासले एउटा मौका दिएको छ, मौका नछुटाउनुस् । नेताहरुले मौका बुझ्नुपर्छ । र, एउटा नेताका निम्ति सँधै मौका आउँदैन् । र, मैले उहाँलाई उदाहरण दिएर पनि भनेँ । नेपालको इतिहासमा पञ्चायतकालमा राजा महेन्द्रले, गिरिजाप्रसादले २०४८ सालमा र पछि प्रचण्डले जुन मौका पाएका थिए, त्यो मौकाको सदुपयोग गर्न नसक्दा उनीहरु पनि कमजोर भएर मुलुकलाई पनि सिध्याए । नेल्शन मन्डेलासँग मौका आएको थियो, उनले सही सदुपयोग गरेर अगाडि आए । त्यसैले मैले अध्यक्षलाई भनेको छु, तपाईंलाई यो मौका आएको छ । यो मौकालाई सही सदुपयोग गर्नुस् ।
























प्रतिक्रिया