– अनुज थापा / न्युयोर्क
“यदि तिमीले जिन्दगीमा राम्रो काम गरेर ठूलो मान्छे भयौं भने, तिम्रो नाम कसले राखिदिएको भनी कुनै अन्तर्वार्तामा सोध्दा, तिमीले मेरो नाम लिएको हेर्न पाउँ, त्यतिखेर म निकै खुशी हुनेछु; मेरो प्रिन्सिपल सरले म ७ कक्षामा हुँदा भन्नुभएको थियो, शायद त्यो अन्तर्वार्ता मैले आज दिए तपाईँलाई ।” उनले लजाएर हाँस्दै भनिन् यो पंक्तिकारलाई । उनी अर्थात २९ वर्षिया आङ माया शेर्पा, जो झरना शेर्पा भनेर चिनिन्छिन् ।
अमेरिकी जीन्दगी भागदौडको जीन्दगी हो । कुनै बेला सातै दिन, दिनको १२ घण्टा काम गर्ने झरना अहिले यहि परोपकारी काममा लागेकै कारण ५ दिनमात्रै काम गर्छिन् र बाँकी २ दिन फेसबुकको सदुपयोग गर्छिन् ।
झरना शेर्पा विगत ५ महिनादेखि विशेषगरी अमेरिकाको न्युयोर्कमा निकै नै चर्चित भइरहेकी छिन् । उनको चर्चा यति व्यापक हुनमा सामाजिक सञ्जाल फेसबुकको मुख्य योगदान छ । अरु जस्तै फेसबुकमा अरुलाई गाली गर्ने, खिसी गर्ने, आफू भन्दा ठूलो कोही होइन जस्तो गरी लेख्ने , आफ्नो फोटोमा लाइक्स र कमेन्ट धेरै आओस् भनेर पारदर्शी लुगा लगाएर फोटो सेसन गराउने जस्तो काम गरेर उनी चर्चामा आएकी होइनन् । उनी त विशुद्ध सामाजिक सेवाका कारण यति चर्चामा आएकी हुन् । फेसबुकलाई सदुपयोग गरेर उनले विगत ५ महिनाभन्दा बढी समयदेखि विभिन्न अभियानको लागि रकम संकलन गरेर नेपाल पठाइरहेकी छिन् । समयको मुल्य भएको यो देश अमेरिकामा झरना अरुको लागि समय निकालिरहेकी छिन् । उनले यसो गरेर चर्चित भइन्छ भनेर शायदै यो काम गरेकी हुन् । यदि यस्तो हुंदो हो त उनको कथा आज पाठक माझ प्रस्तुत हुन्नथ्यो होला । तर, सत्कर्म गर्दै गयो भने चर्चा त्यसले पाउँदै जान्छ । यहि भएको हो झरनाको पक्षमा पनि । कुनै बेला सातै दिन, दिनको १२ घण्टा काम गर्ने झरना अहिले यहि परोपकारी काममा लागेकै कारण ५ दिनमात्रै काम गर्छिन् र बाँकी २ दिन फेसबुकको सदुपयोग गर्छिन् ।
परोपकारी अभियानको शुरुवात
२ वर्षअघि अमेरिका छिरेकी हुन् झरना । आएदेखि नै न्युयोर्कमै बसिरहेकी झरना यहाँ हाउस किपिङको काम गर्छिन् । झरना सानो छँदादेखि आफ्नोे आमाबाट परोपकारी गुण सिकेको बताउँछिन् । सहयोग गर्नु नै धर्म हो भनेर उनलाई आफ्नी आमाले सिकाएकी हुन् ।
उनी व्यक्तिगत रुपमा सधैं अरुलाई सहयोग गरिरहन्थिन् । यो फेसबुकबाट सहयोग गर्ने अभियान एक्कासी फुर्यो उनको मनमा । गएको दशैंताका हो उनले यो अभियान शुरु गरेको अर्थात अंग्रेजी महिनाको कुरा गर्दा गत वर्षको सेप्टेम्बरदेखि उनको यो अभियान शुरु भएको हो ।
सिभिडिएस नामक संस्था जसले द्धन्दपीडित, अपांगता भएका बालबालिका र जेष्ठ नागरिकहरुको लागि काम गर्छ, झरनाले त्यहि संस्थामा रहेका २१ जनाको लागि दशैंमा खुशी दिऔं भनेर पहिलोपटक भिडियो अपलोड गरेकी थिइन् ।
उनले परोपकारी भावना राखेर यो अभियान त शुरु गरिन् तर पैसा कसरी उठ्छ र कसरी उठाउने , केहि मेलो मेसो नै थाहा थिएन झरनालाई । तर भनिन्छ नि सत्कर्म गर्दै जानुपर्छ, सहयोगी हातहरु बढ्दै जान्छ । झरनालाई पनि त्यहि भयो । एक जना शुभचिन्तकले उनलाई पेपल आइडी (PAYPAL ID) बनाइदिनुभयो जसले गर्दा अन्य देशबाट पनि उनलाई रकम उठाउन सहजभयो । उनको यो अभियानबाट त्यसबेला १ लाख ५५ हजार रुपैंया उठ्यो । उक्त रकमले त्यो संस्थामा रहेका बालबालिका र ज्येष्ठ नागरिकहरुको लागि दशैंको उपहार पठाउन सफल भइन् । त्यो पाएर तिनीहरुको मुहारमा देखिएको खुशीले धेरै नै सन्तुष्टि प्रदान गरेको बताउँछिन् झरना ।
यसरी उनको त्यो अभियानले प्रदान गरेको खुशीले उनमा थप हौशला मिल्न थाल्यो । उक्त अभियान लगतै उनले यसरी नै अरु अभियान शुरु गर्न थालिन् र धेरैको मुहारमा खुशी ल्याउन थालिन् ।
यसबीचमा उनले एक बालिकाको उपचार खर्चका लागि ५ लाख रुपैंया, त्यस्तै चेपाङ समुदायका लागि लत्ताकपडा लगायत उठाएर पठाउन सहयोग गरेकी छिन् । साथसाथै आफ्नो व्यक्तिगत सहयोग गर्न पनि उनी पछि पर्दिनन् । उनले रौतहट जिल्लास्थित चन्द्रनिगाहपुर नगरपालिका बासिन्दा १०२ वर्षिया आफन्तविहिन एक आमालाई ३ – ३ महिनाको फरकमा खाद्यान्न सहयोग गरिरहेकी छिन् । यसरी धेरै अभियानहरुमा उनी निरन्तर निःस्वार्थ भइ जोडिरहेकी छिन् ।
घरपरिवारको गुनासो
बौद्ध घर भएकी झरना परिवारमा साहिंली छोरी हुन् । कैलाली जिल्लाको धनगढीमा जन्मिएकी झरनाकी आमा याङजी शेर्पालाई झरनाको यो अभियान पटकै चित्त बुझेको छैन । झरना भन्छिन् – “आमालाई मेरो यो परोपकारी काम मन परेपनि पैसा उठाउने काम चाहिं मन परेको छैन । अरुसँग पैसा मागेर सहयोग गर्दा पछि अवगाल आइलाग्न सक्छ, त्यहि भएर यो काम बन्द गरेकै जाती भनी उहाँ भन्नुहुन्छ । ”
घर परिवारको सहयोग त्यत्ति नपाएपनि आफुले राम्रो उद्धेश्यको साथ यो काम गरेकाले आफु परोपकारी काम गर्न पछि नपर्ने झरनाको ठम्याई छ । नेपालमा पैसा पठाउनका लागि उनले आफ्नै दिदीको छोरी किपा शेर्पाको एकाउन्टमा पैसा पठाउने गर्छिन् ।
पारदर्शिता
पैसा जस्तो कुरा हो , मानिसले झट्टै कसैलाई पनि विश्वास गरिहाल्दैन । परिश्रम गरेर कमाएको पैसा झरनाको हातमा मानिसहरु दिइरहेका छन् । किन विश्वास गरिरहेका छन् त झरनामाथि मानिसहरु ? एउटै जवाफ हो – पारदर्शिता । उनले उठेको रकमको बारे फेसबुकमा अपडेट गरिरहेकी हुन्छिन् । कसरी त्यो रकम र सहयोग प्रदान गरियो भनेर पनि फेसबुकमै जानकारी दिइरहेकी हुन्छिन् । अझ रोचक कुरा त के हो भने पैसा र सहयोग पठाउंदा आउने भइपरी खर्च बरु उनी आफ्नो गोजीबाट हालिरहेकी हुन्छिन् ।
प्रश्न सोधियो – कत्ति मानिसहरु तंपाईको हातमै पैसा पार्न भेट्न पनि आउँछन् , त्यतिखेर भेटघाट हुंदा चियागफ पनि हुन्छ, त्यो पैसा तंपाई त्यहि सहयोगको रकमबाट त कटाउनु हुन्न ? झरना भन्छिन् –“ त्यस्तो कहिले गर्दिन । बरु नेपालमा सहयोगलाई हस्तान्तरण गर्ने व्यक्तिहरुलाई कहिलेकाहीँ बाटो खर्च आफैंले व्यक्तिगत रुपमै पनि हालिदिएको छु । ”
केहि व्यक्तिगत गुनासो
फेसबुकमा ५ हजारजना साथी, २५०० भन्दा बढी फलोअर छन् झरनाको । यहि फेसबुककै कारण उनको अभियान यसरी अगाडी बढिरहेको छ । तर फेसबुकमा केही साथीहरुले अनावश्यक कुरा लेखिदिने , मेसेज बक्समा रिप्लाई गरेन भने रिसाउने जस्ता कुराले उनलाई वाक्क पारेको छ । “म ५ दिन काम गर्छु, २ दिनको बिदामा त्यहि अभियानमा पूर्ण रुपमा लाग्छु । तर कति शुभेच्छुक यो कुरा बुझ्न हुन्न र मेसेजको जवाफ दिएन, ठुलो पल्टियो भनेर गुनासो गर्नुहुन्छ ।”
कति शुभेच्छुकले त झरनाको फोटोलाई काटेर “लभ” को साइन हानेर “तपाईं कति राम्री” भनेर फेसबुकमा हाल्छन् । त्यस्तो देखेर निकै नै रिस उठ्ने र त्यस्तालाई त ब्लक गर्ने गरेको बताउँछिन् झरना ।
कुनै पनि अभियानको लागि पात्र छनौट गर्न पत्रपत्रिका, अनलाइन मिडियाको साहरा लिने झरना बताउँछिन् । “कहिलेकाहीँ कोहि व्यक्तिहरु आफैं सहयोग चाहिने व्यक्तिहरुको जानकारी दिन्छन्, म उनीहरुको बारेमा सबै पृष्ठभुमिहरु प्राप्त गर्छु । उनीहरुलाई सहयोग गर्न ठिक लाग्यो भने म अभियान शुरु गरिहाल्छु ।”
कहिलेकाहीँ अभियानबाट उठेको रकम प्रदान गरिसकेपश्चात उक्त पात्र वा पात्रका आफन्तले सजिलै पैसा आएको जस्तो व्यवहार गर्दा झरनालाई चित्त पनि दुखेको छ । झरना भन्छिन् – “कति व्यक्तिहरु पैसा सजिलै आएको देखेर होला विदेशमा पैसा फल्ने जस्तै कुरा गर्छन् । त्यो देख्दा निकै नै दुःख लाग्छ । यहाँ कति घण्टा परिश्रम गरेर कमाएको पैसा हो भनेर उहाँहरुले बुझ्नु हुन्न । ”
लक्ष्य
आङ मायालाई झरना नाम दिएका हुन् उनका विधायलका प्रिन्सिपलले । कक्षा ७ मा हुँदा प्रिन्सिपलकी छोरीको मृत्यु भएको थियो । प्रिन्सिपलले आङमायामा आफ्नी छोरी देखेपछि उनको नाम झरना राखिदिएका हुन् । ५ महिनाभन्दा बढी भयो उनको यो फेसबुक अभियान शुरु भएको । छोटो अवधिमा धेरैलाई सहयोग जुटाइसकेकी छिन् झरनाले । उनको यो अभियानबाट प्रभावित भएर उनको यो परोपकारी कामलाई सम्मान गर्दै विभिन्न संघसंस्थाले पनि उनको सम्मान गर्ने क्रम जारी छ । उनी सम्मानित भएको देख्दा पक्कै पनि प्रिन्सिपलको छाती गर्भले उचो हुँदो हो अहिले ।
उनमा अब केहि समय विश्राम लिने सोच नआएको पनि होइन । तर विभिन्न माध्यमबाट उनलाई सहयोग जुटाइदिन आग्रहहरु आइरहन्छन्, अनि मन थाम्न सक्दिनन् र अभियान चालिहाल्छिन् । जस्तै गत महिना काठमाडौंमा एसिड प्रहारबाट घाइते भएकी दुई किशोरीका लागि उनले अभियान चलाएर सहयोग गरिहालिन् ।
अमेरिकी जीन्दगी भागदौडको जीन्दगी हो । झरना अब आफ्नो पढाइ पनि पूरा गर्न चाहन्छिन् । सम्भव भएसम्म उनी यो फेसबुक अभियानलाई साथ साथै लिएर आफ्नो पढाइ पूरा गर्न चाहन्छिन् । यदि नभए उनी यसबाट केहि समय विश्राम लिएर पढाई पूरा गर्नतर्फ लाग्नेछिन् । त्यसपछि फेरी त्यो परोपकारी काममा लाग्ने बताउँछिन् झरना । उनको अबको योजना भनेको ठुलो धनराशीको परोपकारी कोष स्थापना गर्ने र त्यहि कोषबाट आर्थिक रुपले विपन्नहरुको सेवा गर्ने रहेको छ । जहाँ इच्छा, त्यहाँ उपाय । उनको फेसबुकको परोपकारी अभियानले त यसरी आकार लिदैंछ भने उनको त्यो परोपकारी कोष स्थापना गर्ने लक्ष्यले पनि छिट्टै आकार लिने झरनाको विश्वास छ । ( फोटो दिपिका श्रेष्ठ )
भिडियो अन्तर्वार्ताका लागि तल थिच्नुहोस् :

















प्रतिक्रिया