काठमाडौं, १४ चैत । राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाट नयाँ संविधान बनाउन नेपाली जनता सक्षम रहेको बताउनुभएको छ ।
गत बिहीबारदेखि चीनको दक्षिणी प्रान्त हेनानस्थित बोआओ नगरमा सुरु भएको एसियाका लागि बाआओ मञ्चको वार्षिक सम्मेलनलाई आज बिहान सम्बोधन गर्दै राष्ट्रपति यादवले संविधान निर्माणका काममा केही कठिनाइको सामना गर्नु परे पनि सौहाद्रपूर्ण ढङ्ले समाधान गर्न नेपाली जनता सक्षम रहेको बताउनुभएको हो ।
उहाँले नेपाली जनताको संविधान प्राप्तिका प्रयासमा अन्तर्राष्ट्रिय समुदाय एवम् शुभचिन्तकबाट बृहत् समझदारी, ऐक्यबद्धता र सहयोग आवश्यक छ भन्नुभयो ।
अल्पविकसित एवम् भूपरिवेष्टित नेपालले विकास प्रयासमा गम्भीर अवरोधको सामना गर्नुपरेको, पर्याप्त पूर्वाधारको अभाव, न्यूनस्तरको औद्योगिक आधार, अपर्याप्त पुँजी, प्राविधिक सीप र ज्ञानको कमी, दक्ष मानव संशाधनको अपर्याप्तता र न्यूनस्तरको उत्पादन क्षमताले आफ्नो मुलुकको आर्थिक अवस्था चित्रण गर्छ भन्दै राष्ट्रपतिले पर्यटन, जलविद्युत् र कृषिजस्ता विकासका अथाह विकल्पको उयोग हुन नसकेको बताउनुभयो ।
उहाँले प्राकृतिक तथा मानव संसाधनको प्रचुर उपलब्धता भए पनि नेपाली जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन हुन नसकेको पनि उल्लेख गर्नुभयो ।
नेपालको आर्थिक पूर्वाधार तथा अर्थतन्त्रका उत्पादनमूलक क्षेत्रका साथै संस्था र सर्वसाधारणमा बृहत् लगानीको आवश्यकता रहेको जानकारी दिँदै राष्ट्रपति डा यादवले विशेषगरी निरन्तर बढिरहेको युवा वर्गमा त्यस्तो लगानी गर्न जरुरी भएको बताउनुभयो ।
उहाँले गरिबी, भोकमरी र विभेद निमिट्यान्न पारेर एसियाको भविष्य स्थिर, सुरक्षित एवम् समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्र राष्ट्रबीच र देशभित्रै विद्यमान आय तथा असमानताका अन्य स्वरुपलाई पूर्णतः उपेक्षा गर्न नसकिने बताउँदै राष्ट्रपतिले सबै देशले आफ्ना नागरिकलाई सम्मानजनक जीवन यापनको सुनिश्चितता गर्न नसकेको यथार्थ औँल्याउनुभयो ।














प्रतिक्रिया