१२ कार्तिक २०८३, बिहिबार

सत्तारुढ दललाई बाबुरामको प्रश्न-‘प्रक्रिया किन अगाडि नबढाएको ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattaraiकाठमाडौं, १३ चैत । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले संविधान निर्माण प्रक्रियामा सत्तारुढ दलको जबर्जस्तीले काम नगर्ने बताउनुभएको छ ।

शुक्रबार राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान निर्माण प्रक्रिया सहमतिका आधारमा नै अगाडि बढ्नुपर्ने र त्यसो हुन नसके आफूहरुसँग आन्दोलन गर्नुको विकल्प नहुने बताउनुभयो ।

‘संविधानका अरु विवादित विषयमा सहमति भए पनि राज्य पुनःसंरचनाका विषयमा सहमति गर्ने सोच र चिन्तन सत्तारुढ दलमा देखिएको छैन, अनौपचारिक वार्ताले औपचारिक वार्तामा बस्नेसम्मको वातावरण तयार भएको छ, तर अहिल्यै सहमति भइहाल्छ भन्ने देखिएको छैन’, डा भट्टराईले भन्नुभयो ।

संविधान लेखन प्रक्रिया नियमित संसद्जस्तो बहुमत र अल्पमतको खेल नभएको बताउँदै उहाँले मुलुक र जनताप्रति गम्भीर भएर सोच्न र मुलुकलाई राजनीतिक समाधान दिन उहाँले सत्तारुढ दललाई आग्रह गर्नुभयो ।

बुधबार र बिहीबार भएका अनौपचारिक वार्ताले शनिबार प्रमुख दलबीच औपचारिक संवादको वातावरण बनेको जानकारी दिँदै उहाँले सहमतिभन्दा बाहिर गएर समस्याको समाधान खोज्ने प्रयत्न गरिए त्यो आफूहरुलाई स्वीकार्य हुँदैन भन्नुभयोे ।

‘सत्तारुढ दलले त प्रक्रियाका आधारमा संविधान जारी गर्छौं भनिरहेका छन् नि, के गर्नुहुन्छ तपार्इंहरु’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो, ‘प्रक्रियाबाट हुने भए उहाँहरुले किन प्रक्रिया अगाडि नबढाएको त ? प्रक्रिया अगाडि बढाएको भए त को-कता भन्ने प्रस्ट भइहाल्थ्यो नि ?’