काठमाडौँ, १३ चैत । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले अध्यागमन विभागलाई आधुनिकीकरण गर्न तथा सुरक्षित आवागमनका लागि इ भिसा (अनलाइन प्रवेशाज्ञा) प्रणाली कार्यान्वयन गर्न लागिएको बताउनुभएको छ ।
नेकपा (एमाले) सञ्चार इलाका परिषद्को बैठकको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री गौतमले त्यस्तो प्रणाली स्थापित भएमा नक्कली प्रवेशाज्ञाको प्रवृत्ति न्यून हुने ठानेर प्रवेशाज्ञाको अन्तिम अनुमति अध्यागमन विभागले नै गर्ने स्पष्ट पार्नुभयो ।
सो नयाँ प्रणाली सञ्चालन गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को पूर्वाधार विकास समितिमा विचाराधीन छ भने सो सम्बन्धमा विभिन्न संसदीय समितिमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
“प्रवेशाज्ञाको अनुमतिको आवेदन अनलाइनमा भर्न सकिन्छ, त्यसमा आगन्तुकले सबै सूचना दिएका हुन्छन्, त्यो सूचना बाहिर जाँदैन, यो प्रणाली स्थापित नभएसम्म कम्पनीले यो काम गर्नेछ तर अध्यागमन विभाग नै विदेशीलाई सुम्पन लागेको भन्ने कुरा सतप्रतिशत गलत हो ।” भन्दै उहाँले प्रश्न गर्नुभयो, “के नेपालको नोट स्वदेशमा छापिन्छ, मेसिन रिडेवल पासपोर्ट कहाँ छापिन्छ सूचना चुहिएको छ ?”
बेलायतलगायत विकसित मुलुकले पनि प्रवेशाज्ञाका अनलाइन प्रणालीको जिम्मेवारी पनि त्यहाँको सरकारले अनुमति वा विश्वास गरेको कम्पनीले गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले नेपालमा विदेशी गुप्तचरी छ्यापछ्याप्ती आइरहेको स्थितिमा नयाँ प्रणाली स्थापित भएमा नेपालमा आउने हरेक विदेशीको विवरण एक एक घण्टामा नेपाल सरकारले सूचना राख्न सक्ने भएकाले यो विषयलाई राष्ट्रघाती विषयसँग नजोड्न आग्रह गर्नुभयो ।
गौतमले भन्नुभयो, “विदेशीको इसारामा चलखेल गर्ने र आर्थिक लाभ गर्नेहरूले आफूलाई क्रान्तिकारी देखाउन मेरो यो प्रस्तावलाई विरोध गरिरहेका छन्, मन्त्रिपरिषद्ले निर्णय गरेपछि यससम्बन्धी दस्तावेज बाहिर आउनेछ, विश्वास गर्नुस् म राष्ट्रघात गर्नेछैन, बरु मेरो ज्यान जानेछ ।”
कार्यक्रममा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका निवर्तमान प्रमुख प्रदीपकुमार ज्ञवालीलाई सम्मान र नवनियुक्त प्रचार विभागका प्रमुख योगेश भट्टराई तथा उपप्रमुख सूर्य थापालाई स्वागत गरिएको थियो । उहाँहरूले परिषद् बैठक सफलताको शुभकामना दिनुभयो । यस्तै एमाले उपत्यका पेसागत बुद्धिजीवी विशेष जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष प्रेम पराजुली, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याललगायतले पनि शुभकामना दिनुभएको थियो । रासस














प्रतिक्रिया