हेटौँडा, ७ चैत । हैटौँडामा युवा संघले आयोजना गरेको आमसभामा एमाओवादी युवा नेतासहित करिब पाँच सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाओवादी जिल्ला कमिटीका सदस्य तिलक लामाको नेतृत्वमा १ सय १ जना एमाले प्रवेश गरेका हुन् । अन्य बाँकी भने स्वतन्त्र रुपमा एमाले प्रवेश गरेका छन् । प्रवेश गर्नेमा काँग्रेसी कार्यकर्ताहरु पनि रहेको युवा संघका केन्द्रीय सदस्य विष्णु पोखरेलले दैनिक नेपाललाई जानकारी दिनुभयो । मध्यान्ह १२ बजेदेखि सुरु भएको आमसभामा प्रवेशीहरुलाई स्वागत गर्न नेताहरुलाई भ्याइनभ्याई थियो । युवा संघले आयोजना गरेको आमसभालाई नेकपा एमाले मकवानपुरले व्यवस्थापन गरेको थियो । हेटौँडाको भुटनदेवी चौरमा भएको भेलालाई एमालेका उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी तथा महासचिव ईश्वर पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सभामा २० हजार भन्दा बढीको सहभागिता रहेको युवा संघको दाबी छ । यो सभालाई स्थानीयहरुले ४–५ बर्ष यताकै ठूलो सभा भनी जबाफ दिएको युवा संघका सचिव रमेश पौडेलले जानकारी दिनुभयो ।

नेताहरुले के भने ?
आमसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री वामदेव गौतमले भन्नुभयो– ‘पहिलो संविधानसभा माओवादीले हामीले जन्माएको भनेको थियो, उसैले हत्या ग¥यो । दोस्रो संविधानसभा हामीले जन्माएका हौँ । त्यसलाई बचाउँछौँ र त्यसबाट संविधान पनि जारी गर्छौँ ।’
उपाध्यक्ष गौतमले माओवादीले भनेजस्तो संविधान नबन्ने बताउनुभयो । ‘हामी कुरामा लचक छौँ, तर सामाजिक सद्भाव बेगरको संविधान मान्दैँनौँ । प्रदेशको हकमा पनि हामी खुकुलो छौँ । तर, मधेशबाट पहाडलाई टुक्राउने संविधान बनाउन दिन्नौँ ।’ माओवादी नआए प्रक्रियाबाट संविधान घोषणा गर्ने उहाँले बताउनुभयो ।

यसैगरी, एमालेको अर्का उपाध्यक्ष विद्या भण्डारीले संविधान निर्माणको बाधक माओवादी भए पनि काँग्रेसको लोसेपनाले पनि संविधान निर्माणमा ढिलाइ भइरहेको बताउनुभयो ।
एमाले महासचिव ईश्वर पोखरेलले माओवादीलाई संविधानसभा घाँडो भएको तर्क गर्नुभयो । माओवादी जसरी पनि संविधानसभालाई विघटन गर्दै संविधानसभाबाट संविधान बन्न नदिने खेलमा लागेको उहाँले बताउनुभयो ।

भेलालाई एमाले स्थायी समिति सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य भानुभक्त ढकाल, उद्योगमन्त्री महेश बस्नेत, केन्द्रीय सदस्य वलबीर चौधरी र केदार न्यौपाने, एमाले मकवानपुरका अध्यक्ष आरसी राई लगायतले सम्बोधन गरेका थिए ।
युवा संघको अन्तरसंघर्षप्रति महासचिवको तर्क
एमाले महासचिव पोखरेलले विधानसंगत रुपमै हेटौँडामा विस्तारित बैठक र आमसभा आयोजना गरिएकाले आफू सहभागी भएको बताउनुभयो ।
‘तपाईंहरु विधि, विधान र पद्दतिलाई टेकेर जानु भएको छ । जसले विधि, पद्दति मान्दैन, त्यो शक्ति पराजित हुन्छ ।,’ महासचिव पोखरेलले भन्नुभयो, ‘तपाईंहरु मिलेर जानुको विकल्प जाने हो । तर, मिल्ने भनेको विधि विधान अन्तर्गत नै हो । ’
यो पनि पढ्नुहोस् :
युवा संघ विवाद: एमाले नेता नै विभाजित, यस्तो रह्यो काठमाडौँ र हेटौँडाको भेला
















प्रतिक्रिया