द हेग, ४ चैत । मालीमा मङ्गलबार भएको एक हेलिकोप्टर दुर्घटनामा संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा कार्यरत दुईजना सैनिकको मृत्यु भएको छ ।
ती सैनिक डच नागरिक भएको राष्ट्रसङ्घले जनाएको छ । डच प्रधानमन्त्री मार्क रुटले सो जानकारी दिँदै उक्त घटनाले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।
दुई सैनिकको मृत्युबाट नेदरल्यान्डका जनता गहिरो शोकमा परेका डच प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
‘हामी आफ्नो नागरिकले सहादत प्राप्त गरेकामा निकै चिन्तित भएका छौँ र उनीहरुका परिवारप्रति हामी समवेदन व्यक्त गर्दछौँ– प्रधानमन्त्रीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको बताइएको छ ।
डच विदेश मालिला मन्त्री बेर्ट कोइन्डेसले यस घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभएको जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घले मालीको संयुक्त राष्ट्रसङ्घीय मिसनमा ती सैनिकहरुलाई गत अक्टोबरमा मात्र खटाएको थियो ।
डच सरकारले सैनिकका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको बताइएको छ । सो हेलिकप्टर मालीमा अवस्थित डच शिविरदेखि ४७ किलोमिटर उत्तरमा दुर्घटना भएको जनाएको छ ।
मालीमा जारी संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा करिब ४५० जना डच सैनिकले योगदान दिइरहेका छन् । रासस/सिन्ह्वा













प्रतिक्रिया