चरिकोट, १ चैत । स्वदेशी लगानीमा दोलखाको लामा बगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत मजदुरले सेयरको माग गर्दै तीन दिनदेखि आयोजनाको काम ठप्प पारेका छन् ।
आयोजनामा कार्यरत मजदुरले थालेको आन्दोलनका कारण शुक्रबार बिहानदेखि आयोजनाको बाँध स्थल, सुरुङमार्ग, विद्युत्गृह निर्माणको काम रोकिएको छ ।
तीन दिनदेखि काम रोकिँदा आयोजनालाई करोडौँ रकम घाटा लागेको छ । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आयोजनाका ८०० बढी मजदुर आन्दोलनमा उत्रिँदा काम रोकिएको बताउनुभयो ।
आन्दोलनमा उत्रने मजदुर आयोजनाको सिभिल निर्माण कार्यको मुख्य ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोमा कार्यरत कामदार हुन् ।
मजदुर सङ्घर्ष समितिका संयोजक सोनाम दोर्जे शेर्पाले नेपाली कामदारले आयोजनामा लामो समयदेखि पसिना बगाएर आयोजना निर्माणमा अहोरात्र खटेका कारण प्रतिमजदुर ५०० कित्ता सेयर पाउनुपर्ने माग गर्नुभयो ।
यसैबीच, जिल्लाका उत्तरी क्षेत्रका स्थानीयले समेत आयोजनाको गाडी ओहोरदोहोरमा अवरोध पु¥याएका छन् । उनीहरुको अवरोधले निर्माण सामग्री बोकेर आयोजना स्थल हिँडेका ३५ भन्दा बढी मालवाहक ट्रक बीच बाटामै रोकिएका छन् ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा प्रभावित तोकिएका गाविसलाई सेयरमा विशेष सुविधा माग गर्दै उनीहरुले शुक्रबारदेखि आयोजनास्थल हिँडेका गाडीलाई अवरोध गरेको सङ्घर्ष समितिका संयोजक पदम पाठकले जानकारी दिनुभयो ।
प्रभावित क्षेत्रका बासिन्दालाई आयोजनाले सर्वसाधारणका लागि छुट्याएको १५ प्रतिशत सेयरबाट कटाएर प्रभावित गाविसबासीलाई विशेष सुविधा दिलाउन पहल गर्ने निर्णय आयोजनाको जिल्लास्तरीय समन्वय समितिले गत फागुन ७ गते गरेको थियो ।
उक्त निर्णय कार्यान्वयन नगरेको भन्दै आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको सङ्घर्ष समितिका संयोजक पाठकको भनाइ छ । रासस













प्रतिक्रिया