११ कार्तिक २०८३, बुधबार

सत्यनिरुपण आयोगलाई प्रचण्डले भने–‘हाम्रो मुद्दामा तलमाथि भए फेरि हतियार उठाउँछौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaकाठमाडौँ, २७ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीसंग छलफल गरेका छन् ।

प्रचण्ड निवास लाजिम्पाटमा भएको छलफलमा द्वन्द्वकालीन मुद्दालाई आयोगले नै हेर्नुपर्नेमा सर्वोच्च अदालतको पछिल्लो फैसलाले मुलुकलाई पुनः द्वन्द्वमा लैजाने अवस्था देखिएको भन्दै अध्यक्ष प्रचण्डले तत्काल आयोगले यसमा पहल गर्न आग्रह गरेका छन् ।

प्रचण्डले अदालतको आदेश नमान्न आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । ‘हाम्रो मुद्दामा तलमाथि भए स्वीकार्य हुनेछैन्, फेरि द्वन्द्वमा जानुपर्ने अवस्था आउँछ, फेरि हतियारको लडाँई हुनेछ’ प्रचण्डले आयोगका पदाधिकारीलाई भनेका छन् ।

सर्वोच्चको पछिल्लो फैसलाका केही बुँदा मान्न सकिने भए पनि सबै बुँदालाई स्वीकार गर्न नसकिने प्रचण्डको भनाई छ ।

तत्कालीन सरकार र विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालीन सबै विषयलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगले नै हेर्ने व्यवस्था भएपनि पछिल्लो दिनमा सर्वोच्चको फैसलाले उल्टाइदिएको भन्दै अध्यक्ष प्रचण्डले आयोग पदाधिकारीसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

आयोग पदाधिकारीले ऐन संशोधन गर्ने सम्बन्धमा आफूहरुले केही गर्न नसक्ने जानकारी दिँदै दलहरुबीच नै छलफल गर्नसमेत अध्यक्ष दाहाललाई ध्यानाकर्षण गराएका थिए ।

आयोगका पदाधिकारीले आयोगको काम कारबाही र तयारीका बारेमा अध्यक्ष दाहालसँग छलफल गरेको आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले बताए ।