२९ आश्विन २०८३, बिहिबार

भ्रष्टाचारको आरोपमा पूर्वप्रधानमन्त्रीलाई अदालतले बोलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manmohan-singh_dec20

नयाँदिल्ली, २७ फागुन । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलाई एक भ्रष्टाचारसम्बन्धी मुद्दामा बयानका लागि अदालतले बोलाएको छ ।

उहाँलाई भारतको प्रधानमन्त्री रहेका बेला सन् २००५ मा गरेको भनिएको कोइलासम्बन्धी अनियमितताको मुद्दामा बयानका लागि अदालत बोलाएको जनाइएको छ ।

अरबौँ भारतीय रुपैयाँ बराबरको सो मुद्दाको छानबीन जारी रहेको छ । सो मुद्दामा जारी अनुसन्धानका क्रममा भारतको विशेष अदालतले पूर्व प्रधानमन्त्री डा. सिंहसहित अरु पाँचजनालाई सो मुद्दाका बारेमा प्रश्न सोध्नका लागि बोलाएको हो ।

उहाँलाई कोइलाखानी सञ्चालनसम्बन्धी अनुमति दिँदा सरकारी साधन र स्रोतको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सोधपुछका लागि बोलाएको हो ।

त्यस समयमा उहाँ आफै कोइला मन्त्रीको पनि जिम्मेवारीमा रहनुभएको र सोही समयमा कोइला उत्पादन र बिक्रीबितरणका लागि निजी क्षेत्रलाई दिइएको लाइसेन्समा अनियमिता भएको बताइएको थियो ।

त्यसको केही समयपछि देखि नै उक्त काण्डको छानबीन सुरु भएको थियो । सोही क्रममा बुधबार उहाँलाई अदालतले आगामी अप्रिल ८ मा बयानका लागि बोलाएको बताइएको छ ।

यो काण्डले सन् २००५ मा भारतको कोइला खानीको क्षेत्रमा निकै ठूलो तहल्का मच्चाएको थियो ।
यो विषय भारतका एकजना ठूला उद्योगपतिसँग पनि जोडिएको आरोप लगाइएको छ ।

कुमार मङ्गलम बिरला भारतको कोइलासम्बन्धी एक ठूलो कम्पनी हिन्डाल्कोका अध्यक्ष पनि रहेका र सो कम्पनी पनि यसमा मुछिएको छ ।

सो कम्पनीले यसअघि नै कोइला खानीको सो अनुमतिका क्रममा कुनैपनि अनियमितता नभएको दाबी गरेको छ ।

पूर्व प्रधानमन्त्री डा. सिंहले पनि सन् २०१३ मा नै एक विज्ञप्तिमार्फत सो विषयमा कुनैपनि अनियमितता नभएको र राजनीतिक रुपमा प्रेरित भई यस्तो मुद्दा उठाइएको बताउनुभएको थियो ।

भारतको सर्वोच्च अदालतले गएको दुई दशकमा भारत सरकारले त्यहाँको निजी क्षेत्रलाई दिएको सो कोइलाखानी सञ्चालनसम्बन्धी अनुमतिका विषयमा करिब २१४ वटा कोइला खानीमाथि कारबाही गरेको थियो । रासस/सिन्ह्वा