भीमदत्तनगर, २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिबाट नभए बाध्य भएर प्रक्रियाबाट भए पनि संविधान जारी गरिने बताउनुभएको छ ।
जिल्ला विकास समिति कञ्चनपुरको आठौँ जिल्लापरिषद् उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले जनताको मत नै निर्णायक हो भन्नुभयो ।
उहाँले संविधासभाभित्रका ६०१ जना सदस्य जनप्रतिनिधि हुन भन्दै जनप्रतिनिधिहरुबीच सहमति नभए बाध्य भएर पनि प्रक्रियाबाट संविधान जारी गर्नुपर्ने धारणा राख्नुभयो ।
संविधान निर्माण प्रक्रियामा सङ्घीयताका विषयमा राजनीतिक दलहरुका विभिन्न विचार आएकै कारण समस्या भएको नेता देउवाको भनाइ थियो ।
‘पाँच जिल्लाको विवादले सङ्घीयतामा समस्या भएको हो ।’ देउवाले भन्नुभयो, “सुदूरपश्चिम अखण्ड चाहनुहुन्छ भने कैलाली–कञ्चनपुरका थारु समुदायको चित्त बुझाउनुपर्छ ।”
उहाँले सुदूरपश्चिममा अखण्डका पक्षमा विगतमा ३२ दिने आन्दोलन हुँदा नेपाली कांग्रेस सभापति शुशील कोइराला, एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सुदूरपश्चिम नटुक्र्याउने विषयमा सहमति भएको खुलासा गर्नुभयो ।
“आवश्यक परे सुदूरपश्चिममा जनमत सङ्ग्रहमा जाउँला भन्ने तीन प्रमुख नेताबीच सहमति भएको थियो ।” नेता देउवाले भन्नुभयो, “विवाद नरहे सुदूरपश्चिमलाई नटुक्र्याउने विषयमा सहमति भएको थियो ।”
















प्रतिक्रिया