अर्जेन्टिना, २६ फागुन । अर्जेन्टिनामा एउटा टेलिभिजनको रियालिटी सो का लागि दृश्य खिचिरहेका दुई हेलिकोप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा परी १० जनाको ज्यान गएको छ ।
त्यसमा परी मारिनेमा आठजना फ्रान्सेली नागरिक छन् । मारिनेमा दुई जना अर्जेन्टिनाका हेलिकोप्टर चालक पाइलट रहेका जानकारी दिइएको छ ।
अधिकारीहरुका अनुसार दुईवटा हेलिकोप्टरबाट सो फिल्मका लागि दृश्य खिचिरहेका बेला सो दुर्घटना भएको थियो ।
उत्तरी अर्जेन्टिनाको ला रियोजना प्रान्तमा सो दृश्य खिच्नका लागि ती हेलिकोप्टरहरु परिचालन गरिएको थियो । सो क्षेत्रमा रहेको एक पहाडको दृश्य खिच्ने क्रममा हेलिकोप्टरहरु आकासमै एक आपसमा ठेकिएका थिए ।
उक्त प्रान्तका प्रान्तीय प्रवक्ता होरासियो अलार्कोनले भनेका छन्– अकस्मात दुईवटा हेलिकोप्टर आकासमै ठोकिएका छन् र त्यसमा रहेका कोही पनि जिवित छैनन् ।
उनले सो क्षेत्रमा मौसम राम्रै रहेको तर हेलिकोप्टरको दुर्घटना किन भयो भन्ने बारेमा कुनै जानकारी नआएको बताएका छन् ।
प्रहरीका अनुसार मारिनेमा आठजना फ्रान्सेली नागरिक छन् भने अरु दुई जना अर्जेन्टिनाका नागरिक हुन् । ती दुई अर्जेन्टिनाका नागरिक ती दुई हेलिकोप्टरका चालक पाइलट रहेको बताइएको छ ।
उत्तरी क्षेत्रमा पर्ने सो ला रियोजा दृश्य विश्वकै एक प्रख्यात पर्यटकीय स्थल हो । सो क्षेत्रमा यसरी फिल्मका लागि दृश्य खिच्न र दृश्यावलोकनका लागि ठूलो सङ्ख्याका पर्यटक जाने गर्दछन् ।
अर्जेन्टिनाका टेलिभिजनहरुले हेलिकोप्टर दुर्घटनामा परी छिरलिएका हेलिकोप्टरका पाटपूर्जाका साथै आगलागी भएका दृश्यहरु मात्र देखाएका छन् ।
ती दुवै हेलिकोप्टरमा प्रत्येकमा चार जना फ्रान्सेली नागरिक र एक पाइलट रहेका बताइएको छ । रासस/एएफपी













प्रतिक्रिया