
काठमाडौँ, २६ फागुन । राष्ट्रपति डा रामवरण यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोनवार्ता गरेका छन् ।
मंगलबार दिउँसो अध्यक्ष प्रचण्डलाई टेलिफोन गर्दै राष्ट्रपति यादवले फकाउने प्रयास गरेका हुन् । संविधान निर्माणका लागि दलहरुबीच वार्ताको प्रयास अगाडि बढिरहेका बेला राष्ट्रपति पनि कस्सिएका हुन् ।
राष्ट्रपति यादवले मोर्चाका संयोजक समेत रहेका प्रचण्डलाई सहमतिमा आउन आग्रह गरेको बताइएको छ । उनले मोर्चाको माग पूरा गराउन आफू तयार रहेको बताउँदै आफ्नै नेतृत्वको मोर्चालाई वार्ताका माध्यमबाट संविधान निर्माण कार्यमा ल्याउन प्रचण्डलाई आग्रह गरेका हुन् ।
राष्ट्रपति यादवले आन्दोलनकारी शक्ति मिलेर सहमतिका आधारमा संविधान निर्माण गर्ने वातावरण बनाउन प्रचण्डलाई आग्रह गरेको शितल निवास स्रोतले जानकारी दियो ।
आन्दोलनकारी शक्तिका बीचमा संवाद र सहमतिको आवश्यकता रहेकामा जोड दिँदै राष्ट्रपति डा यादवले यतिखेर आन्दोलनले कोही कसैको हित नगर्नेमा प्रचण्डलाई सचेत गराएका थिए राष्ट्रपतिले दलहरु मिलेर अगाडि बढ्नुपर्ने र त्यसमा शान्ति सम्झौताका हस्ताक्षरकर्ताको हैसियतले एमाओवादीको भूमिका महत्वपूर्ण रहेको बताएको स्रोतले बतायो ।
प्रचण्डले राष्ट्रपतिको प्रस्तावलाई स्वीकार गर्दै प्रचण्डले दलहरुबीच सार्थक संवाद हुनुपर्ने, विगतका सहमति र सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने र सबैले अपनत्व गर्ने संविधान निर्माण हुनुपर्ने जबाफ दिएका थिए ।
सत्तारुढ दल सकारात्मक वार्ताको पक्षमा नरहेको भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज दोस्रोचरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताइरहेको बेला राष्ट्रपति डा यादव र अध्यक्ष दाहालबीच टेलिफोन वार्ता भएको हो ।















प्रतिक्रिया