काठमाडौँ, २४ फागुन । एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल मलेसियाबाट स्वदेश फर्कनुभएको छ ।
नेता खनाल एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन आइक्याप को मलेसियाको राजधानी क्वलालम्पुरमा सम्पन्न स्थायी कमिटीको २४औं बैठकमा भाग लिई स्वदेश फर्कनुभएको हो ।
आइतबार साँझ स्वदेश फर्किनुभएका वरिष्ठ नेता खनालले विमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै संविधान निर्माणका लागि वार्ताभन्दा सहमति र वार्तालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो–‘सकेसम्म अधिकतम् सहमति नत्र यथेष्ट सहमतिका आधारमा संविधान ल्याउन वार्तामा जुट्नुपर्छ ।’
बैठकमा एसियाली देशहरुका आपसी सम्बन्धलाई गहिरो र घनिष्ठ बनाउने तथा एसियाली महादीपलाई अग्रगामी दिशा दिने विषयका विमर्श गरी प्रस्ताव पारित भएको थियो ।
नेता खनाल फागुन १५ गते मलेसिया जानुभएको थियो । उहाँले अब संविधान निर्माण कार्यमा ढिलाई गर्न नहुँने भन्दै दलहरु छिट्टै सहमतिमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।















प्रतिक्रिया