– एकराज पाठक
“कसले गर्यो नेम्स्तोभको हत्या ? हामीले कहिल्यै थाहा पाउने छैनौँ ।” बेलायतको चर्चित पत्रिका ‘द गार्जियन’ले गतहप्ता रसियाली विपक्षी नेता बोरिस नेम्स्तोभको हत्यापछिको सम्पादकीयमा लेखेको छ । रसियाका प्रमुख विपक्षी नेता एवम् राष्ट्रपति भ्लादिमिर पुटिनका एक कडा आलोचक मानिने नेम्स्तोभको हत्यापछि पुटिन प्रशासन पुनः एकपटक आलोचना र विवादमा तानिएको छ ।
उक्त अखबारको आशयको औँला पुटिन प्रशासनतर्फ नै तेर्सिएको छ । पछिल्लो समयमा रसियाली राष्ट्रपति पुटिन विभिन्न विषयको विवाद, देशभित्रै बढ्दै गएको भनिएको असुरक्षा र आलोचनाको घेरामा तानिनुभएको छ । युक्रेनमा रसियाको हस्तक्षेपको नीति पुटिन प्रशासनको पछिल्लो विवादास्पद निर्णय हो र यस नीतिका कट्टर आलोचक हुुनुहुन्थ्यो नेम्स्तोभ । उहाँको हत्याको दुई घन्टामात्रअघि उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको थियो– यदि तपाईं युक्रेनमा रसिया युद्ध रोक्न चाहनुहुन्छ र पुटिन प्रशासनको स्वेच्छाचारिताको नियन्त्रण गर्न चाहनुहुन्छ भने मार्च १ मा मस्को आउनुहोस् ।
विपक्षी नेता नेम्स्तोभले १ मार्चका लागि सरकार विरोधीसभाको आयोजना गर्नुभएको थियो । उहाँले त्यसदिन पुटिन प्रशासनका ज्यादति रोक्न नागरिकलाई आह्वान गर्ने विशेष भाषणको तयारी गरिरहनुभएको थियो । पछिल्लो समयमा रसियामा असुरक्षा बढेको तथा कुटनीतिका रुपमा लगभग विश्वमा नै एक्लिन पुगेकाले पुटिन प्रशासन आलोचित बन्न पुगेको र जसका कारण मस्कोमा सरकारका विरोधमा लाखौँ नागरिकको र्याली निस्कन सक्ने अनुमान सुरक्षा निकायले गरेको थियो । त्यसैले विपक्षी नेताको निगरानी सुरक्षा अङ्गहरुले बढाएका पनि बताइएको थियो । तर त्यससभा आयोजना हुनुभन्दा तीन दिन अगावै रहस्यमय ढङ्गबाट उहाँको हत्या नै भयो ।
हत्या कसले गर्यो त ? यतिखेर यस प्रश्नका अनेकथरी जवाफ सार्वजनिक भइरहेका छन् रसियामा । बेलायती अखबार द गार्जियनले भनेजस्तै धेरैले यस हत्यामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरकारकै हात रहेको आशय व्यक्त गरेका छन् । तर रसियाभित्रै बसेर यो तर्कगर्न त्यति सजिलो छैन । सरकारका विरोधीहरु कुनै न कुनै रुपमा तारो बन्ने गर्छन् त्यसैले पनि हत्यापछि सरकारको विरोधमा जुलुस निकाल्ने आँट गर्न रुसी नागरिकहरु सकिरहेका भने छैनन् ।
अर्का एकजना चर्चित विपक्षी नेता एलेक्सी नाभल्नीले भने यो हत्यामा सरकारी मान्छेकै हात रहेको प्रतिक्रिया दिएका छन् । केही दिनदेखि जेलमा रहेका उनले यो हत्यालाई पुटिन प्रशासनको पछिल्लो स्वेच्छाचारिताको सिकार भनेका छन् । सरकार विरोधी आपत्तिजनक पर्चा टाँसेको आरोपमा थुनामा राखिएका नेता नाभल्नीले जेलभित्रबाटै निकालेको विज्ञप्तिमा भनेका छन् – मेरा मित्र नेम्स्तोभ पुटिन प्रशासनको अकर्मण्यताको पछिल्लो सिकार बन्न पुगे ।
उनले भनेजस्तै हत्या नियोजित भएका धेरै आधारहरु स्वदेश वा विदेशबाट प्रशस्तमात्रामा प्रस्तुत भएका छन् । सुरक्षा अङ्गहरुले उहाँको निगरानी गर्नु, मार्च १ को विरोध र्याली फिर्ता लिन सरकारले बारम्बार धम्की दिनु, हत्याको समयमा घटनास्थलका सिसी क्यामेराहरु बन्द हुनु, हत्याको दुई घन्टामात्रअघि उहाँले पुटिनका विरुद्ध जम्मा हुन रुसी नागरिकलाई आग्रह गर्नु, युक्रेनमा रसियाको युद्ध भनेर पछिल्लो समयमा पुटिनको कडा आलोचनामा उहाँ उत्रिनु तथा यसअघिका पटक–पटकका अन्तरवार्तहरुमा उहाँले आफ्नो हत्या पुटिनकै निर्देशनमा कुनै पनि समयमा हुनसक्छ भन्ने आशय व्यक्त गरिनु र हत्यापछि आवश्यक छानबिन नै नगरी हत्यमा अमेरिकी गुप्तचर निकायको हात छ भनेर सरकारी उच्च अधिकारीहरु उम्किन खोज्नुले पनि हत्यामा सरकारी पक्षको हात रहेको आरोप लगाउने प्रयत्न रसिया भित्र र बाहिर पनि भइरहेको छ ।
विश्वका नेताहरुले पनि यो हत्यालाई अन्यन्तै ठूलो रहस्यको घेरामा रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले बर्सेनि रुसमा सरकार विरोधी पत्रिकाका सम्पादकहरु नै मारिनु र उनीहरुका हत्यारालाई कारबाही नगरिनु जस्तै यतिखेर विपक्षी नेता नै मारिनुले थप रहस्मय बनाएको बताएका छन् । यस हत्याका बारेमा राष्ट्रपति पुटिनले यो हत्या रसियमा अस्थिरता चाहने र रसियाली जनतालाई उत्तेजनामा ल्याउनका लागि गरिएको भनेर दिएको प्रतिक्रियाबाट पनि पश्चिमा नेताहरुले हत्यालाई राजनीतिकरण गर्न खोजेको देखिएको गार्जियन पत्रिका लेख्छ ।
उहाँको हत्यालाई कतिपयले रङ्गीन दुनियासँँग पनि जोडेका छन् । उहाँकी केटीसाथी युक्रेनी युवती रहेकी र उनीसँगको प्रेम प्रशङ्ग पनि हत्याको कारण हुनसक्ने अनुमान लगाउने निकै थोरै मानिसहरु पनि रसियमा देखिन्छन् । उता ती केटीसाथीले पनि आफू किभमा आफ्ना आमाबुबाका घरमा रहेका बेला आफूलाई अज्ञात व्यक्तिले मार्ने धम्की दिएको भन्दै शुक्रबार विज्ञप्ति प्रकाशन गरेकी छिन् । नेम्स्तोभको हत्याको समयमा भने उनी साथमै थिइन् । सेतो कारमा आएको नकाबधारीले हत्या गरी भागेको जानकारी उनले नै दिएकी थिइन् ।
विगतमा केही वर्षयता रसियामा हत्याको शृङ्खला नै चलेको बताइन्छ । बर्सेनि पत्रकार मारिएका छन् । रसियमा पुटिन सत्तामा आएपछि सबैभन्दा धेरै पत्रकार मारिने गरेको अधिकारवादीहरु बताउछन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्टको तथ्याङ्कअनुसार रसियमा सन् २००८ यतामात्र १७ जना पत्रकार मारिएका छन् । ती सबै सरकारको आलोचक पत्रिका र टिभीका पत्रकार छन् र उनीहरुका हत्यारालाई कारबाही गरिएको छैन । अधिकारवादीहरु यी हत्यामा सरकारी पक्षलाई जोड्छन् र देशमा दण्डहीनता बढ्दै गएकामा चिन्ता व्यक्त गर्छन् । उनीहरु यो पछिल्लो हत्यामा पनि कुनै हत्यारा पक्राउ गर्ने वा सजाय पाउनेमा आशङ्का नै व्यक्त गर्ने गर्छन् ।
पुटिन दोस्रोपटक राष्ट्रपतिको पदमा सन् २०१२ को मे महिनामा निर्वाचित हुनुभएको हो । त्यस निर्वाचनमा पनि व्यापकरुपमा धाँधली भएको भन्दै लाखौँ रसियाली सडकमा आएका थिए र त्यो आन्दोलनको नेतृत्व पनि नेम्स्तोभले नै गर्नुभएको थियो । त्यसयतादेखि नै उहाँ पुटिन प्रशासनको तारो बन्नुभएको थियो । पुटिन सन् १९९९ देखि रसियाको सत्तामा हुनुहुन्छ । प्रधानमन्त्रीबाट त्यसवर्ष सुरु भएको उहाँको सत्तारोहण कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति गरी पालैपालो र पटक–पटक जारी नै छ । तर उहाँको पछिल्लो कार्यकाल भने देशभित्र र बाहिरबाटै प्रतिदिन आलोचित बन्दै गइरहेको छ ।
बितेका केही वर्षयतादेखि रसिया अन्तर्राष्ट्रिय रुपमा नै एक्लिएको महसुश भएको बताइन्छ । विशेषगरी पश्चिमा राष्ट्रहरुबाट रसियाका लागि यो महसुश भएको छ । अघिल्ला वर्षहरुमा सिरियामा नेटो सेना पठाउन अमेरिकाले सुरु गरेको पहल रसियाकै कारण रोकिन पुगेको थियो । जसका कारण त्यहाँ गृहयुद्ध नै सुरु भएको छ र अहिलेसम्ममा २ लाख भन्दा बढी सिरियालीले ज्यान गुमाउनुपरेको छ ।
पछिल्लो समयमा पनि युक्रेनका कारण पश्चिमा राष्ट्रहरुसँग रसियाको कित्ता छुट्टिएको छ ।
युक्रेनको क्राइमिया क्षेत्रलाई रसियामा गाभ्ने निर्णयका लागि पुटिन प्रशासनको निकै ठूलो हात रहेको छ । अहिले पनि युक्रेनको पूर्वी भागमा युद्ध कायमै छ । त्यो युद्धका कारण त्यहाँ छ हजार भन्दा बढीको ज्यान गएको छ । त्यहाँ रसियाली सेनाको घुसपैठ रहेको बताइन्छ र त्यसलाई पुटिन प्रशासनले अस्वीकार गर्दै आएको छ । यस कारण गतवर्षदेखि युरोपियन युनियनले रसियामा नाकाबन्दी नै लगाउदै आएको छ । तर पुटिन प्रशासन भने हरेक घटनाक्रममा सफल नै हुदै गएकोजस्तो देखिन्छ । रासस














प्रतिक्रिया