काठमाडौं, २३ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ वर्षको आगमनसँगै देशले निकास पाउने बताउनुभएको छ ।
आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेन्डरी स्कुलको अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नयाँ वर्षसँगै नयाँ सोच, नयाँ चिन्तनसँगै देशले निकास पाउने बताउनुभएको हो ।
शुक्रबार एमाओवादी मोर्चासँग भएको छलफलमा सहमति गर्न सकारात्मक भएको बताउँदै उहाँले आजबाट बालुवाटारमा भएको वार्ताले सहमतिको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो ।
देश सङ्क्रमणमा गुज्रिएको वर्तमान अवस्थामा छिटो संविधान जारी गर्ने सबैको चाहना रहेको बताउँदै उहाँले माघ ८ मा टरेर गए पनि नयाँ वर्षको आगमनसँगै संविधान जारी हुने दाबी गर्नुभयो ।
शक्ति प्रदर्शन गर्ने, गालीगलौज गर्ने समय अब गएको बताउँदै उहाँले भन्नुभयो, “शक्ति प्रदर्शन गर्नेले पनि गरे, अब शक्ति प्रदर्शन गर्ने, एकअर्कालाई हप्काउने, गालीगलौज गर्ने, घुर्काउने, तर्साउने समय गयो, गम्भीर भएर जनचाहनाअनुसारको संविधान बनाउने बेला आएको छ, यसलाई पूरा गरौं ।”
सङ्घीयताका विवादित विषयमा देशको भौगोलिक अखण्डता, जातीय एकतामा खलल नपुग्ने गरी जनताको चाहनालाई सम्बोधन गर्ने गरी यो विषयलाई टुङ्गोमा पु¥याउनुपर्ने नेता नेपालले बताउनुभयो । संविधान जारी गरेर देशलाई आर्थिक उन्नति र विकासमा लम्कनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले संविधान निर्माण गरी छिटो जारी गर्न कसैले रोक्न नहुने बताउनुभयो ।















प्रतिक्रिया