काठमाडौं, २२ फागुन । पवन प्रकृतिले सातौं ललितपुर जिल्लाव्यापी अन्तरविद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको उपाधि जितेको छ ।
समग्रमा च्याम्पियन बनेको पवन प्रकृतिले २ सय २ अंक जोड्यो ।
ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा १ सय ९ अंकसाथ वज्र एकेडेमी दोश्रो तथा ७९ अंकमा सेन्ट जेभियर्स स्कुल, गोदावरी तेश्रो भए ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १२ हजार र ९ हजार नगद पुरस्कार पाए ।
प्रतियोगिताअन्तर्गत भलिबलको छात्रमा पवन प्रकृति र छात्रामा माउन्ट ओलिभले पहिलो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको छात्र फाइनलमा पवन प्रकृतिले भ्याली पब्लिक स्कुललाई २–० को सोझो सेटमा पराजित ग-यो । वज्रले तेश्रो स्थानमा चित्त बुझायो ।
छात्राको फाइनलमा माउन्ट ओलिभले पवन प्रकृतिलाई २–० को सीधा सेटमा हरायो । नमुना इङलिस स्कुल तेश्रोमा सीमित भयो ।
एथलेटिक्सको छात्रमा पवन प्रकृतिका विजय कार्की तथा छात्रामा सेन्ट मेरिजकी अनु दाहाल उत्कृष्ट खेलाडी चुनिए ।
भलिबलको छात्रमा पवन प्रकृतिका सविन तामाङ र छात्रामा माउन्ट ओलिभकी मनु बमजन उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट चारैले समान १–१ हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई राखेप सदस्य–सचिव युवराज लामा, आयोजक समितिका अध्यक्ष राजेश लामा र कोषाध्यक्ष विजय खड्कालगायतले पुरस्कृत गरे ।













प्रतिक्रिया