
काठमाडौँ, २१ फागुन । बुधबार बिहानदेखि ठप्प रहेको त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडान शुक्रबार बिहान १० बजे भन्दा अघि संचालन नहुने भएको छ ।
दुर्घटनाग्रस्त टर्किस एयरवेजको जहाज हटाउन समय लाग्ने भएपछि भारतबाट आएको प्राविधिक टोलीले शुक्रबार बिहान १० बजेसम्मको समय मागेको हो । भारतको नयाँदिल्लीबाट भारतीय वायु सेनाको जहाजमा एयरक्राफ्ट रिमुभल किट (जहाज हटाउने उपकरण) बिहीबार दिउँसो १ बजे काठमाडौँ ल्याइएको थियो ।
भारतीय वायु सेनाको जहाजमा १२ जना प्राविधिकहरु पनि आएका छन् । यसअघि बिमानस्थल प्रशासनले उपकरण ल्याएको सात घण्टामा जहाज हटाइसक्ने बताएको थियो ।
नेपाल र भारत सरकारबीचको कुराकानीपछि हिजो एयरक्राफ्ट रिमुभल किट मुम्बईबाट दिल्लीमा ल्याइएको थियो । एयरक्राफ्ट रिमुभल किट इन्डियन एयरवेजको हो । नेपालसम्म ल्याइदिने काम मात्र भारतीय वायुसेनाले गरेको हो । भारतीय सेनासँग पाँच हजार फिटमा ल्याण्ड गर्न सक्ने जहाज भएकाले उसको सहायता लिइएको बिमानस्थलका अपरेशन डाइरेक्टर देवचन्द्र लाल कर्णले जानकारी दिनुभयो ।
टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ विमान अवतरण गर्ने क्रममा बुधबार बिहान धावन मार्गको पश्चिमपट्टि किनारमा अड्किएर धावन मार्ग अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ। तर, ५ हजार मिटर रनवेमा उड्न सक्ने भएकाले जेट एयरवेजको जहाज भने काठमाडौँबाट रित्तै फर्कने भएको छ ।
त्रिभुवन बिमानस्थल बन्द भएपछि विभिन्न देशबाट नेपाल आउँदै गरेका हजारौँ यात्रु अलपत्र परेका छन् । काठमाडौमा बिमानस्थलमा यात्रुको ठूलो भीड छ । त्रिभुवन बिमानस्थलमा दैनिक ३५ वटा अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । दैनिक १२ हजार भन्दा बढी यात्रु ओहोरदोहार गर्ने बिमानस्थल बन्द हुँदा विदेशमा समेत नेपालको छवि धुमिलिएको छ ।















प्रतिक्रिया