२९ आश्विन २०८३, बिहिबार

हातमुख जोर्न गिट्टी, बालुवा चाल्दै राष्ट्रिय खेलाडी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २१ फागुन । आफ्नो जीवनको अत्यन्त ऊर्जावान् समय मुलुकको प्रतिष्ठाका लागि कुस्ती खेलेर बिताएका सिरहाका एक कुस्ती खेलाडी हातमुख जोर्न समस्या भएपछि गिट्टी, बालुवा चालेर जीविका चलाइरहनुभएको छ ।

अयोध्यानगर गाविस–९ कसाहाका ५२ वर्षीय जनक यादवले खेलाडी भएर आफूसहित छ जनाको परिवार पाल्न समस्या परेपछि गिट्टी, बालुवा चाल्न थालेको बताउनुभयो ।

सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न सातौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपालको तर्फबाट कुस्ती खेलको ९० केजी तौल समूहमा स्वर्ण पदक जितेर मुलुकको गरिमा बढाएका यादव अचेल गाउँनजिकै रहेको गागन खोलामा गिट्टी, बालुवा चालिरहनुभएको छ ।

“साफमा स्वर्ण पदक जितेर फर्केपछि जीविकाका लागि केही व्यवस्था हुन्छ कि भन्ने आशाले खेलकुद मन्त्रालय, खेलकुद परिषद्जस्ता ठाउँमा पटकपटक धाए पनि आश्वासनबाहेक केही पाइन्” यादवले गुनासो गर्नुभयो ।

“साफमा स्वर्ण पदक जितेर फर्किएपछि केही होला भन्ने आशाले सम्पर्कमै थिएँ तर खेलकुद परिषद्ले बेवास्ता ग¥यो” यादवले भन्नुभयो “परिषद् र मन्त्रालयका पदाधिकारी आफन्तलाई जागिर लगाउन मात्र तल्लीन भए, मेरो कुनै भनसुन नभएकाले काम पाउन सकिन ।”

“उमेर छँदा देशका लागि विदेशसम्म पुगेर इमान्दारीपूर्वक खेलियो, अहिले चुलो बाल्नसमेत अप्ठ्यारो परेपछि गिट्टी, बालुवा चाल्नु परेको छ” यादवले भन्नुभयो । पूर्व राष्ट्रिय कुस्तीवाज यादवले विगत सुनाउँदै भन्नुभयो “कुनै समय आफ्नो नाम सुनेरै कुस्ती हेर्न मानिसको ठूलो भिड जम्मा हुन्थे, अहिले आफ्नो दैनिकी कसले बुझ्ने ?”

सम्पत्तिको नाममा चार कट्ठा जमिन मात्र रहेका यादवका चारवटी छोरी, एक छोरा र श्रीमती रहेका छन् । आर्थिक अभावले राम्रो शिक्षा दिन नसकेपछि ऋण कर्जा गरेर छोरीको विवाह गरिदिएको यादवले बताउनुभयो । “कुस्तीमा गरेको मिहनतले देशको गौरव बढाएँ तर आफ्नै छोराछोरीको भविष्य भने अन्धकार जस्तै भयो ।”

बिहान सबेरै उठेर कसरत गर्ने कुस्तीवाज यादवको दैनिकी अचेल कसरतका लागि होइन, खोलामा गिट्टी बालुवा चाल्नका लागि सुरु हुने गर्दछ ।

चार वर्षसम्म राष्ट्रिय टिममा रहेर देश विदेशमा आयोजना हुने राष्ट्रिय\अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर दर्जनौँ पदक जित्नुभएका यादवले सातौँ साफमा स्वर्ण पदक जितेपछि राज्यबाट रु दुई लाख ६५ पाएको बताउनुभयो । “त्यसबाहेक राज्यले मलाई फर्केर हेर्न चाहेन” यादवले भन्नुभयो ।

अझै पनि आवश्यक सन्तुलित खाना र व्यायाम गर्ने समय पाउने हो कुस्ती खेलका लागि केही गर्ने धोको रहेको यादवले बताउनुभयो । “सरकारले अवसर दिएमा कुस्तीका नयाँ खेलाडीलाई कुस्ती खेलाउन सक्छु” उहाँले भन्नुभयो ।