गोरखा, १४ फागुन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एनेकपा-माओवादीको लाठीसँग नडराउने बताउनुभएको छ ।
गोेरखाको पालुङटारमा पार्टीद्वारा विहीवार आयोजित ‘गणेशमान बलिदान अभियान’ लाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयो, ‘एमाओवादीको लाठी जुलुस, शक्ति प्रदर्शन जनतालाई स्वीकार्य छैन । जनतामाथिको अन्याय, अत्याचारको हामी भण्डाफोर गर्छौ ।”
सडकबाट संविधान जारी गर्ने ध्वाँस नदिन एनेकपा-माओबादीलाई आग्रह गर्दै उपसभापति पौडेलले संविधान निर्माणको जिम्मेवारीबाट एमाओवादी भागेको आरोप पनि लगाउनुभयो ।
अन्याय, अत्याचार र हुकुमी शासनको अन्त्य गर्न अनवरतरुपमा नेपाली काँग्रेस लाग्दै आएको बताउँदै उहाँले एमाओवादीको लाठीको सामना गर्दै जनताले भनेको मान्ने बताउनुभयो ।
जनताको चाहनाअनुसार काँग्रेसले सहमतिको आधारमा संविधान निर्माण गर्न चाहेको उल्लेख गर्दै उहाँले सबै दललाई समेटेर लोकतान्त्रिक संविधान निर्माण गर्न आफ्नो पार्टी लागेको जानकारी दिनुभयो ।
सडकमा वार्ता नहुने भन्दै उहाँले एमाओवादीलगायत मोर्चालाई वार्तामा आउन आग्रह पनि गर्नुभयो । “संबिधानसभाबाट छिट्टै संबिधान आउँछ,” उपसभापति पौडेलले भन्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य गगन थापाले एमाओवादीलगायत मोर्चालाई वार्तामा आउन आग्रह गर्दै भन्नुभयो, “संवादले मात्रै सहमति हुन्छ, संविधानसभाबाटै संविधान जारी गर्नुपर्छ ।”














प्रतिक्रिया