– विश्वराज पछल्डङग्या
नेपालगन्ज, ३ फागुन । एकीकृत माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले काँग्रेस, एमाले लगायतका सत्ताधारी दलले संविधानसभा अपहरण गरि हत्या गरिसकेको बताएका छन् ।
उनले विभिन्न समयमा भएका सहमति, सम्झौता, मधेसी, थारु, दलित जनजातिका आन्दोलनबाट प्राप्त उपब्धिको बर्खिलाप गरि काँग्रेस र एमालेको निर्देशनमा संविधानसभा अध्यक्षले संविधानसभाको हत्या गरेको आरोप लगाए ।
नेपालगन्जमा क्रान्तिकारी पत्रकार संघको पत्रकार भेट्घाटमा बोल्दै सहमति तथा सम्वाद समितिका संयोजक रहेका भट्टराईले बहुमतको आधारमा संविधान जारी गर्न खोजिए समानान्तर सरकार गठन गर्ने चेतावनी दिए । उनले भने-‘सत्ताधारी दलले ३० दलिय मोर्चालाई बाहिर राखेर संविधान जारी गरे हामीले पनि अर्को संविधान जारी गर्ने छौं ।’
माघ ११ पछि सत्ताधारी दलसँग कुनै वार्ता र सम्बाद नभएको दावी गर्दै उनले जातिय पहिचानसहितको संघीयता र संघीयता सहितको संविधान आफ्नो पार्टीको बटम लाइन भएको बताए । जातियताको गलत अर्थ लगाइएको बताउँदै उनले जातियता र राष्ट्रियता फरक भएको बताए ।
उनले थारु, नेवार, मगर, गुरुङ, राई लगायतका समुदाय जाति नभई राष्ट्रियता भएको बताए । ‘हाम्रो पार्टीले जातियताको आधारमा नभई राष्ट्रियताको आधारमा संघीय प्रदेश हुनुपर्ने भनेको हो’-उनले भने ।
उनले एकल जातिय पहिचानसहितको संघीयताको पक्षमा एमाओवादी नरहेको स्पष्ट पारे । ‘हामीले एकल जातिय पहिचानसहितको स्वायत्त प्रदेशको कुरा गरेका होइनौं’-उनले भने-‘ऐतिहासिक पृष्ठ भूमिका आधारमा जातिय पहिचानसहितको संघीय प्रदेश हुनुपर्छ भन्ने हाम्रो अडान हो ।’
संविधानसभा निर्वाचनमा एकीकृत माओवादीले एक वर्षभित्र संविधान दिने प्रतिवद्धता जनाएको भन्ने गलत प्रचार गरिएको बताउँदै उनले भने–‘हामीले जातिय पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान एक वर्षभित्र दिन्छौं भनेका हौं । हाम्रो पार्टीलाई कम्जोर बनाउन काँग्रेस, एमालेले गलत प्रचार गरिरहेका छन् ।’
भट्टराईले भने-‘प्रजातन्त्रका लागि आवाज उठाउँदा मगर समुदायका लखन थापालाई राणा शासकले गोर्खामा लगेर फाँसी दिए । अहिले पनि मगर समुदायको अधिकार खोस्ने काम सत्ताधारी दलले गरिरहेका छन् ।’ उनले मगरात प्रदेशमा मगरलेमात्र नभई अन्य समुदायले पनि समान अधिकार पाउने बताए । उनले भने–‘हामीले जातको नाममा राज्यको नामाकरण हुनुपर्छ भनेका मात्र हौं । सम्पूर्ण अधिकार एउटा जातिलाई दिनुपर्छ भनेका छैनौं ।’
पहिचानसहितको संविधान बन्न नदिने षडयन्त्र भइरहेको उल्लेख गर्दै उनले जातिय पहिचानसहितको प्रदेश बन्न नदिए आफूहरुलाई मान्य नहुने स्पष्ट पारे । संविधानसभालाई अपहरण गरेर २०४७ सालकै संविधान बनाउने खेलमा काँग्रेस र एमालेले कसरत गरिरहेको उनको भनाई थियो ।
‘पूरानो संविधानको केहि धारा फेरवदल र पूरानो गाता (खोल) फेरेर नयाँ संविधान दिन सत्ताधारी दल तल्लिन छन्’–पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने–‘परिवर्तनका पक्षमा उभिएका जनताले पूरानै संविधान स्वीकार्ने कुरै छैन ।’ भट्टराईले बहुमतिय प्रक्रियामार्फत संविधान बनाउने कार्य नरोकिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।















प्रतिक्रिया