कास्की, १९ माघ । पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरभित्र रहेको भगवतीको प्रतिमा खिँइदै गएको छ ।
खराब रसायन (केमिकल) मिसाइएको अबिर र पानी प्रतिमामा पर्दा तथा मानिसको हातको घर्षणले गर्दा प्रतिमाको क्षयीकरण भएको हो ।
करिब ३०० वर्ष पुरानो मन्दिरमा रहेको प्रतिमा खिँइदै गएपछि अहिले भगवतीको प्रतिमाको शीरलाई छोपेर पाउमा मात्र पूजा गर्न थालिएको मन्दिरका पुजारी रुद्रनाथ पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार करिब तीन फिट उचाइको ढुङ्गाबाट बनेको देवीको सो प्रतिमा विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको मूल मन्दिरमा रहेको छ ।
वरपर अन्य देवी देवताका मन्दिर र मूर्ति भए पनि भक्तजन विन्ध्यवासिनीको दर्शन नगरी नफर्कने हुँदा त्यहाँ सधैँजसो भक्तजनको लाम लाग्छ । “अहिले मन्दिरमा आउने कति बढे कति !” मन्दिरका पुजारी पौडेलले भन्नुभयो, “जति धेरै मान्छे, त्यति धेरै अबिर र अक्षता, पत्थर त खिइने नै भयो नि ।”
आफ्नो ७८ वर्षे जीवनको ७१ वर्ष त देवीकै पूजामा बिताउनु भएका उहाँले मन्दिरमा आउनेलाई देवीको शीरमा होइन, पाउमा पूजा गर्न सिकाउँदै आएको बताउनुभयो । पाउमा पूजा गर्दा शीर नखिइने उहाँको धारणा रहेको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले मन्दिरमा रहेको भगवतीको प्रतिमा खिइएको मात्र नभई बढी मानिसको आवागमनले गर्दा मन्दिर नै पूर्वपट्टि लच्किएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सानो व्यासमा बनेको मन्दिरको प्रदक्षिणापथ सानो भएको र त्यसमा धेरै भक्तहरुले प्रदक्षिणा गर्दा मन्दिर लच्किएको बताउनुभयो । भक्तजन मन्दिरलाई बायाँबाट दायाँतर्फ नघुम्दासम्म मोक्ष प्राप्ति नहुने विश्वास गर्छन् ।
समितिका सचिव श्रेष्ठले मन्दिरमा रहेको भगवतीको अर्को प्रतिमा निर्माणका लागि पुरातत्व विभागलाई अनुरोध तथा नयाँ प्रदक्षिणापथ बनाउनका निम्ति स्वीकृति माग गरे पनि त्यसमा ढिलाइ भएको गुनासो गर्नुभयो । बेलैमा नयाँ प्रदक्षिणापथ बनाउननसके मन्दिरको अस्तित्व सङ्कटमा पर्ने उहाँको भनाइ छ ।
प्रदक्षिणापथ निर्माणका लागि सघाउने दाता पनि तयार छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले विन्ध्यवासिनी मन्दिर पुनःनिर्माणका लागि रु एक करोड २५ लाख दिने घोषणा गर्नु भएकोमा रु २१ लाख प्राप्त भएको र बाँकी रकम नयाँ प्रदक्षिणापथ निर्माणको स्वीकृति पाउनासाथ निकासा हुने धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
नयाँ प्रदक्षिणापथ बनाउनका लागि सिफारिस माग्दा पुरातत्व विभागले सिमेन्ट र कङ्क्रिट प्रयोगमा रोक लगाएको एवम् मन्दिरको पुरातात्विक महत्व घट्ने तर्क गरेकाले समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।
समिति भने मन्दिरको संरचना नबिगारेर नै नयाँ प्रदक्षिणापथ बनाउने योजनामा रहेको छ ।
यता पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पनि मानिसको हातको बढी घर्षण र खराब रसायन एवम् पानीका कारण विन्ध्यवासिनी मन्दिरमा रहेको देवीको प्रतिमाको क्षयीकरण भएको स्वीकार्नुभयो ।
काठमाडौँमा रहनुभएका उहाँले टेलिफोनमा बताउनु भएअनुसार ढुङ्गाको गुणस्तरले पनि क्षयीकरणमा प्रभाव पार्छ । पुरातात्विक विभागले महत्वपूर्ण संरचना बचाउने अभियानमा यो विषयलाई पनि सम्बोधन गर्ने प्रयास गरिएको उहाँले बताउनु भयोे । रासस
–––––––
















प्रतिक्रिया