३० आश्विन २०८३, शुक्रबार

नेपाल फर्कने प्लेन टिकट किनेर आउँदै गर्दा चितवनकी सविनाको सडक दुर्घटनामा मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Accident-Mirtu

रवि रोषी

दोहा, १८ माघ । ‘बुढेसकालमा श्रीमती नमर्नु र नाबालकका आमा नमर्नु’ भनेपनि आखिर कालले त्यो अनुनय किन सुन्दो रहेछ र ? बाबुविहीन ती दुई नाबालक कतारमा मृत्युवरण गर्न पुगेकी आफ्नी आमाको यो दुखद खबरले कति मर्माहत भएका होलान् । बाबुको मृत्युपछि सहाराको रुपमा रहेकी आफ्नी आमाको त्यो दुर्दान्त अवस्था र भोलिका अनिश्चित भविष्यले उनीहरुको जीवनले कस्तो मोड लिने हो भन्ने बारेमा अर्को चिन्ताको बिषय बनेको छ ।

चितवन वीरेन्द्रनगर गाविस वडा नं. ६ कि सविना लामा आफ्नो नाबालक २ छोरा छोडेर आफ्नो आर्थिक विपन्नताको जीवनमा केही सुधार गर्ने सपना बोकेर कतारको ‘लाइफ स्टाइल क्लिनिंग एण्ड मेन्टेनेन्स’ नामक कम्पनीमा काम गर्न आएको करिब ३ बर्ष जति भएको थियो ।

कतार छिरेको करिब एक बर्षमै नेपालमा रहेका उनका श्रीमान् पनि पायल्स र टिबी रोगले ग्रस्त भइ मृत्युवरण गर्न पुगेका थिए । त्यसताका सविनाका २ छोराहरुको उमेर ९ बर्ष र ७ बर्ष मात्र थियो । हुन त सविनाले विवाहपछिको दाम्पत्य जीवनमा सुख, शान्ति चैन के हो कहिल्यै भोग्न नपाएको कतारमा रहेका उनका छिमेकीले बताए । दिनहुँ रक्सीको दुव्र्यसनमा फसेका उनका श्रीमानले आफ्नो पारिवारिक आर्थिक जीवनतिर फिटिक्क वास्ता नगरेका कारण सविना कतार आउन बाध्य भएको उनका छिमेकी बताउँछन् ।

Rabi-Roshi1
लेखक: रवि रोषी

सन्तान र श्रीमतीप्रति निभाउनु पर्ने दायित्वबाट सधैं बेखबर रही मादक पदार्थको लतमा फसेका उनका श्रीमानबाट दिक्दार भई केहि बर्षदेखि माइतीले दिएको थोरै जग्गामा सानो कटेरो बनाएर आफ्ना दुई छोरासंग माइतीको आश्रयमा बस्दै आएकी सविनाले तिनै दुई छोराको शैक्षिक भविष्य निर्माण गर्ने सपना बोकेर कतार आएकी थिइन् । माइतीमा हजुरआमाको स्याहार सम्हारमा बस्दै आएका ती दुई सन्तानलाई सविनाले कतारको क्लिनिंग कम्पनीमा काम गरेर कमाएको पैसाले शिक्षा र लालनपालनमा टेवा दिँदै आएकी थिइन् ।

करिब ३ बर्षको कतार बसाईपछि आज फेब्रुअरी १ तारिख (आइतबार) को दिन उनको नेपाल फर्कने योजना थियो । नेपाल जाने जहाजको टिकट लिन कम्पनीको डिउटी सकेर शनिबार साँझ करिब ७ बजे उनी अफिस जाने क्रममा थिइन् । तर, सडक पार गर्दागर्दै गाडीले ठक्कर दिएर उनको प्राणपखेरु दुर्घटनास्थलमा नै उड्न पुग्यो । ३ बर्षको लामो कतार बसाईपछि ‘आफ्ना लालाबालालाई कहिले भेटुँ र अंगालोमा भरेर आफ्नो मातृ ममत्व दुई सन्तान माथि खन्याउँ’ भनेर आतुरिएकी सविनाले न त त्यो इच्छा नै पूरा गर्न पाइन्, न त झण्डै झण्डै आफ्नै आमाको अनुहार बिर्सिन लागिसकेका सविनाका बाबुविहीन छोराहरुले आफ्नी आमाले आँगन टेकेको हेरेर रमाउँदै मख्खिने त्यो दिन अब भोग्न नै पाउने भए ।

माइतीको आश्रयमा बाँच्दै आएकी सविनाकी आमाले पनि आफ्नी छोरी आगमनको प्रतिक्षामा मनभरि कति खुशी संगालेर बसेकी थिइन् होली । सुटकेश गुडाउँदै आँगन प्रवेश गर्दै गर्दाको दृश्ययुक्त सपनाहरु कैयौंपटक हरेक राति सविनाको आमाको आँखामा दोहोरिदै आएका थिए होलान् । बुढयौलीवयले चाउरिएर चिम्सिएका ति बुढीआमाका आँखाबाट आँगनमा सुटकेश बोकेर आउँदै गरेकी छोरीको हँसिलो अनुहार हेरेर खुशीको आँसु खसाल्ने समयमा आँगनमा लमतन्न पारेर सुताएको छोरीको मृत देह हेरेर पुत्रीवियोगको आँसु झार्नुपर्दाको त्यो अवस्थाले कस्तो विह्लता सिर्जना हुँदो हो, त्यो कल्पना गरि नसक्नुको छ ।

जनवरी ३० तारिखका साँझ ७ बजे डिउटीबाट आएकी सविना तामाङ र उनका साथीहरु आफू काम गर्ने कम्पनीमा गएर टिकट र आफूले पाउनुपर्ने रयलपयल १९ सय कतारी रियाल लिएर फर्किने क्रममा थिए । त्यतिबेला ‘छोराहरुलाई कपडा, चकलेट र सुटकेस बाँध्ने डोरी किनेर आउँछु’ भन्दै साथीहरुलाई बाटोबाट नै कोठामा जान आग्रह गरी पठाएकी थिइन, उनले । दोहाको टेलिभिजन राउण्ड अबाउट पार गर्ने क्रममा उनलाई विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिएको थियो । घटना लगत्तै उनलाई कतारस्थित हमाद मेडिकल कर्पोरेशनको आकस्मिक कक्षमा पुर्याएपछि डाक्टरले मृत घोषणा गरेको हो ।

नेपाली समाजका अगुवा सागर नेपाल तथा नेपाली महिला समाजकी अध्यक्ष श्रीमती रेखा राईले अस्पतालमा गई डाक्टरसँग परामर्श लिंदा उनको पोष्टमार्टम भएपछि मात्र बाँकी प्रक्रिया अघि बढाउने जानकारी दिएका छन् । हाल सविनाको मृत शरिरलाई अस्पतालको शवगृहमा राखिएको छ ।