कमलराज भट्ट
काठमाडौ, १३ माघ । नेपाली काँग्रेस र नेकपा एमाले लगायतका सत्तारुढ गठबन्धनले संविधान निर्माणको प्रक्रिया अगाडि बढाएपछि एमाओवादीले ‘फुटाउ र राज गर्’ को खेल सुरु गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन फुटाएर सत्ता परिवर्तन गर्न काँग्रेस र एमालेकै असन्तुष्ट नेतालाई उचालेर खेल्न खोजेका हुन् ।
संविधान जारी गरेपछि एमालेले सरकारको नेतृत्व लिने काँग्रेससँगको पूर्वसहमति छ । तर, संविधान जारी नभएकाले सुशील कोइराला नेतृत्वको सरकारको आयु स्वतः लम्बिएको छ । यस्तो अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नैतिक रुपमा अप्ठेरो अबस्था छ । अझ संघियता, जातिय राज्य र संविधान निर्माणको प्रक्रिया अगाडि बढाउने विषयमा एमाले अध्यक्ष ओलीले लिएको अडानले छिमेकी देश भारत चिढिएको खबरहरु पनि बाहिर आइरहेको छ । मधेसवादी दलहरुले पनि ओलीलाई शत्रुका रुपमा हेरिरहेका छन् । यस्तो अबस्थामा काँग्रेससँगको सहमति कार्यान्वयन हुने र प्रधानमन्त्री बन्ने सम्भावना न्यून रहेकाले ओलीले सरकारलाई प्राथमिकताका रुपमा लिएका छैनन् । नेपालीको राजनीतिमा प्रभावशाली भूमिका खेल्ने भारत चिढिएको निष्कर्षसहित एमाओवादी अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका नेता नारायणकाजी श्रेष्ठ लगायतलाई सत्तारुढ दलसँग अनौपचारिक वार्ताका लागि परिचालन गरेका छन् । श्रेष्ठले काँग्रेस र एमालेका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल सुरु गरिसकेको एमाओवादीका एक नेताले बताए ।
यसो त सत्तारुढ दलले प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोइरालालाई विपक्षी दलसँग वार्ताको जिम्मेवारी दिएपनि एमाओवादी लगायतका दल त्यसलाई स्वीकार्ने पक्षमा देखिएको छैन् । सबैभन्दा ठूलो पार्टीका अध्यक्ष एवं संविधान निर्माणमा सहजीकरणको भूमिका खेल्नुपर्ने सरकार प्रमुखसँग वार्ता नगर्ने विपक्षीको निर्णयले सरकार परिवर्तनको खेल सुरु भएको आशंकाहरुलाई बल प्रदान गर्छ । बर्तमान सरकार प्रमुखसँग बार्ता नै नगर्ने र संविधानसभाबाट संविधान निर्माण प्रक्रिया सुरु नै हुन नसक्ने अवस्था लामो समयसम्म रहे राजनीतिले नयाँ कोर्स लिनेछ ।
एमाओवादीले काँग्रेसको नेतृत्व नस्वीकारेको अबस्थामा काँग्रेसबाट वरिष्ठ नेता शेरबहादुर देउवा अगाडि बढ्ने सम्भावना छ । यसै पनि देउवाले ‘म सबैलाई मिलाएर अघि बढ्छु’ भनेर पटकपटक भनिरहेका छन् । सुशीललाई नस्वीकारेको अबस्थामा वार्ताका लागि पहलकदमी लिन नजिकका नेताहरुले देउवालाई सुझाव दिइरहेको स्रोतले बतायो ।
एमालेका शीर्ष नेता माधवकुमार नेपालले त काग्रेससँग भएको नौ बुँदे सहमतिलाई गलत भनिसकेका छन् । नौ बुँदे सहमतिले विपक्षीहरु चिढिएको स्वीकार गर्दै नेता नेपालले त्यसलाई ‘भुल’ मात्र भनेका छैनन्, एमाओवादी अध्यक्ष प्रचण्डलाई संवाद र सहमतिमा ल्याउन फेरि ‘माया-प्रेमको फिल्म’ हेर्न जान मन लागेको प्रतिक्रिया दिएका छन् । जब जब राजनीतिक संकटहरु गहिरिँदै जान्छन्, त्यतिबेला पुलको काम गर्ने नेता नेपालले वार्ता र छलफलका लागि पार्टीबाट पहलकदमी लिन खोजिरहेको यसले पुष्टि गर्छ । पार्टी अध्यक्ष ओलीसँग पानी बाराबारको अवस्थामा रहेको अवस्थामा एमाओवादी र मधेशी मोर्चाको समर्थन नेपालले पाएमा सरकारको नेतृत्व एमालेमै आउने भएपछि ओली संकटमा पर्ने छन् । र नेपाललाई समर्थन गर्नुको विकल्प रहने छैन । यो परिस्थितिमा नेपाल र देउवा अबको सरकार नेतृत्व गर्ने ब्यक्तित्वको रुपमा आमनेसामने देखिने सम्भावना बढेको छ ।

















प्रतिक्रिया