काठमाडौँ, ११ माघ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई जुत्ता प्रहार गर्ने प्रयास असफल भएको छ ।
एमाओवादीका युवा सभासद्हरुले संविधानसभा अध्यक्ष नेम्वाङलाई एमाओवादी सभासद्ले जुत्ता हान्ने प्रयास असफल भएको हो । आइतबार संविधान निर्माणका लागि प्रश्नावली समिति गठनको प्रस्ताव गर्ने क्रममा एमाओवादीका केही युवा सभासद्ले नेम्वाङलाई जुत्ता हान्ने प्रयास गरेका थिए । तर, संविधानसभामा नाराबाजी चलिरहँदा सभासद्हरुको यो प्रयास थाहा पाउनासाथ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई सम्झाउँदै रोकेका थिए ।
संविधानसभामा बैठक बस्नुअघि संविधानसभा भवन बानेश्वरमा बसेको एमाओवादी संसदीय दलको बैठकमा पनि सभासद्हरुले नेम्वाङलाई जुत्ता हान्नुपर्ने प्रस्ताव गरेका थिए । तर सोमबार मध्यराति संविधानसभामा भएको तोडफोडलाई जनताले नरुचाएको भन्दै प्रचण्डले जुत्ता हान्दा सर्वसाधारण र विदेशमा समेत नकारात्मक सन्देश जाने बताएका थिए ।
प्रचण्डको निर्देशन बमोजिम आफूहरुले संविधानसभा अध्यक्षलाई जुत्ता हान्ने तयारी स्थगित गर्न बाध्य भएको एमाओवादी सभासद् अमनलाल मोदीले जानकारी दिए । उनका अनुसार, नेम्वाङलाई प्रहार गर्ने योजनाका साथ एमाओवादीका केही सभासद् पुरानो जुत्ता लगाएर संविधानसभाको बैठकमा पुगेका थिए ।
नेम्वाङलाई जुत्ता हान्नबाट रोके पनि प्रचण्डकै निर्देशनमा एमाओवादीले आइतबार राजधानीसहित देशका विभिन्न भागमा संविधानसभा अध्यक्ष नेम्वाङको पुत्ला दहन गरेको छ ।

















प्रतिक्रिया