गोरखाबजार, ७ मंसिर । जिल्ला प्रशासन कार्यालय वरपर राहदानी फारम भर्ने, फोटो खिच्ने र फोटोकपी गर्ने व्यवसायीले अनिवार्य मूल्यसूची टाँस्नुपर्ने भएको छ ।
व्यवसायीहरूले मनलाग्दी मूल्य लिँदा सेवाग्राही ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबारदेखि अनिवार्य सूची टाँस गर्नुपर्ने नियम लागू गरेको हो ।
व्यवसायीलाई भेला गराएर मूल्यसूची सबैले देख्ने ठाउँमा टाँस्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले जानकारी दिनुभयो ।
‘रु एक सय ५० पर्ने फारमलाई व्यवसायीले रु ६०० सम्म लिएको भन्ने गुनासो बढ््यो’, स प्रजिअ पौडेलले भन्नुभयो, ‘फोटोकपी गरेकै एकप्रतिको रु १५ सम्म लिएको सेवाग्राही बताउँछन् ।’
प्रशासन नजिकै सेवाग्राही दिनहुँ ठगिएपछि मूल्यसूची टाँस्न निर्देशन दिएको पौडेलले बताउनुभयो । प्रशासन कार्यालय वरपर करिब एक दर्जनभन्दा बढी फोटो पसल छन् ।
सेवाग्राहीको राहदानी फारम मनलाग्दी तवरले भर्दा कात्तिक महिनामा २३ वटा बिग्रेको फारम राहदानी विभागबाट फिर्ता आएको प्रशासन कार्यालयले जनाएको छ । साथै २६ जनाको फोटो बिग्रेकाले फिर्ता आएको सप्रजिअ पौडेलको भनाइ छ ।
‘बिल बेगर कारोबार गर्न बन्द गर्नुहोस् भनेर निर्देशन दिएका छौँ’ पौडेलले भन्नुभयो, ‘कार्यान्वयन नभएको पाइए कालोबजारी, ठगीअन्तर्गत व्यवसायीलाई मुद्दा चलाउँछाँै ।’ व्यवसायीले दररेट निर्धारण गरेर मूल्यसूची टाँस्ने प्रतिबद्धता जनाएका छन् ।













प्रतिक्रिया