२९ आश्विन २०८३, बिहिबार

निगमले मासिक २५ करोडको हाराहारीमा आम्दानी गरिरहेको छः मन्त्री थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunil-thapaकाठमाडौँ, ३ मङ्सिर । वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले अन्तर्राष्ट्रिय बजारमा कायम गरिएकोे मूल्यकै आधारमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण हुने पद्धतिलाई कडाइका साथ कार्यान्वयनमा लगिएको बताउनुभएको छ ।

शान्ति र संविधानका लागि पत्रकार अभियानका पदाधिकारीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘जसले गर्दा मुलुकमा पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको छ, पछिल्लो समय मूल्य तीनपटक घटिसकेको छ, नेपाल आयल निगमलाई पनि केही नाफा भएको छ ।’

निगमको व्यवस्थापकीय पक्षमा सुधार ल्याएर विगतका कमीकमजोरी हटाउने कामलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको बताउँदै मन्त्री थापाले अन्तर्राष्ट्रिय बजारमा कायम गरिएको मूल्यका आधारमा तेलको मूल्य समायोजन गर्ने प्रणालीको विकास भएपछि निगमले मासिक रु २५ करोडको हाराहारीमा आम्दानी गरिरहेको जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थको मुलुकभर सहज आपूर्तिलाई व्यवस्थित तुल्याउन रक्सौलदेखि अमलेखगञ्जसम्म करिब ४१ किलोमिटर लामो पाइपलाइन बिछ्याउने कामका लागि नेपाल र भारतबीच छलफल भइरहेको उल्लेख गर्दै उहाँले काम सुरु भएको मितिले ३० महिनाभित्र सक्ने लक्ष्य लिइएको उक्त आयोजनाको लागत रु एक अर्ब ५० करोड अनुमान गरिएको बताउनुभयो ।

गरिब तथा दुर्गम क्षेत्रका जनताको हितलाई ध्यानमा राखेर मुलुकका ६६ जिल्लामा सहुलियत मूल्यका पसल सञ्चालन गरिएको र समयमै अत्यावश्यक दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई चुस्त बनाएको हुँदा दशैँ तिहारलगायतका चाडपर्वमा विगतको तुलनामा यस वर्ष जनताले केही हदसम्म राहतको महसुस गरेको उहाँले दाबी गर्नुभयो ।

मुलुकको कुल बजेटभन्दा ठूलो परिमाणमा रहेको बजेट घाटालाई कसरी सन्तुलित बनाउने भन्ने सरकारका सामु ठूलो चुनौती रहेको बताउँदै मन्त्री थापाले अन्तरमन्त्रालयबीच समन्वय नहुनु, विपे्रषणका भरमा मुलुक चलाउन खोज्नु तथा व्यापार घाटालाई न्यून गर्न ठोस कार्यक्रम अझै ल्याउन नसक्नु नै कमजोरी हो, भन्नुभयो ।

एक प्रश्नको जवाफमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका वाणिज्य मन्त्री थापाले लामो शान्ति प्रक्रियालाई आफैँले सल्टाएर विश्व समुदायसमक्ष उदाहरण प्रस्तुत गरिसकेका प्रमुख तीन दलले सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा अब पनि एकपटक दलीय स्वार्थभन्दामाथि उठेर अहिले देखिएको विवादलाई सुल्झाएर शान्ति र संविधानप्रति प्रतिबद्ध रहेको सन्देश दिन आवश्यक रहेको बताउनुभयो । रासस