काठमाडौं, २ मंसिर । केशव स्थापित दंग छन् । दंग यस मानेमा कि जीवनको पहिलो पटक उनको निधारमा एमाले अध्यक्ष केपी ओलीले टिका लगाइदिए । तेस्रो पटक पार्टी प्रवेश गरेका स्थापितले भने– ‘अब मैले मेरो बाँकी जीवन एमालेमा समर्पित गर्छु । एमाले पार्टी हामीले हुर्काएको पार्टी हो । केही चित्त नबुझ्दा घरबाट बाहिरिएको मात्र हो । अब मैले त्यो गल्ती गर्ने छैन ।’
एमालेमा मदन भण्डारीपछि आफूलाई मन पर्ने नेता ओली नै भएकोले उनले ओलीको नेतृत्वमा एमालेलाई एक नम्बरको पार्टी बनाउने प्रण गरे । पदप्रति मोह नभएकोले पार्टीले दिएको जुनसुकै जिम्मेवारीलाई शिरोधार्य गर्दै काठमाडौंमा पार्टी सुदृढीकरणमा लाग्ने उनले बताए ।
कुनै बेला काठमाडौंको पाँच सिटमध्ये चार सिट जितेको एमाले कुनै बेला शून्य सिटमा झर्यो । अहिले दश सिटमध्ये चार सिट एमालेले जितेको छ । पार्टी सुदृढीकरण गर्दै जाने हो भने आगामी दिन काठमाडौंको दश सिटमा दशैं सिट एमालेले कब्जा जमाउने विश्वास उनको छ ।
जातीय राज्यको बहस चलिरहेको बेला स्थापित भने यस विषयमा मौन बस्न चाहन्छन् । उनी भन्छन्– पार्टी भनेको व्यक्ति होइन । पार्टी नीति, सिद्धान्त, विचार छाडेर म बोल्नेवाला छैन । तर, नाम जे दिए पनि प्रदेशको विकासमा सबैको सहभागिता र प्रदेशको समृद्धि नै मेरो उद्देश्य हो । नाम नेवास् राज्य राख्दैमा सबै नेवार समृद्ध र अधिकार सम्पन्न हुन्छन् भन्ने छैन । त्यसैले मुलुकलाई जातीय द्वन्द्वमा फसाउनु भन्दा सुन्दर नेपाललाई सबै जातजातिको साझा फूलबारी बनाउनुपर्छ, स्थापित भन्छन् ।
स्थापितसँग काठमाडौंलाई सुन्दर बनाउने धेरै सपनाहरू छन् । एमालेको नेतृत्वमा उनले काठमाडौंलाई विश्वकै नमूना सहर बनाउने र लाखौं पर्यटकको गन्तव्य बनाउने उनको अठोट छ ।
पहिला पार्टीलाई बलियो बनाऔं । हिजो जे जति कारणले पार्टी छाडेर गएकाहरूलाई पार्टीमा संगठित गरौं र टोलटोलमा युवालाई समेटेर एमालेलाई सशक्त बनाऔं । यो मेरो पहिलो अभियान हुनेछ ।
















प्रतिक्रिया