गोरखाबजार, २ मङ्सिर । गोरखाको हरमटारीस्थित लोकतान्त्रिक चोकमा होटल मिराकल सञ्चालनमा आएको छ ।
रु सात करोडको लगानीमा होटल मिराकल प्रालिले सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको हो । होटलमा २१ वटा कोठा छन् । तीमध्ये नौवटामा एसी जडान गरिएको होटल सञ्चालक शीतलकाजी मास्केले जानकारी दिनुभयो ।
सवारी पार्किङका लागि फराकिलो ठाउँ रहेको होटलले जनाएको छ । “स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर होटल खोलेका हौँ”, मास्केले भन्नुभयो, “पर्यटकले खोजेको सम्पूर्ण सुविधा होटलमा छ ।” होटलमा बगैँचासहितको रुफटप रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याइएको छ ।
“ठूला होटल नभएकाले पर्यटक आएकै दिन फर्कन्थे,” मास्के भन्नुहुन्छ, “हाम्रो लक्ष्य पर्यटकको बसाइ लम्ब्याउने हो ।” वातानुकुलित कोठाहरू एक दिनको रु एक हजार ५०० देखि रु दुई हजारसम्मका रहेको मास्केको भनाइ छ । होटलका कोठामा पार्केटिङ गरिएको छ ।
फ्रिज तथा कोठामै चिया बनाएर खान पाइने सुविधा होटलले दिएको छ । साथै द्रुत गतिको इन्टर्नेट सुविधा प्रयोग गर्न पाइने पनि मास्केले बताउनुभयो ।
होटलमा दुईवटा बैठक हल छन् भने माथिल्लोमा ३० जना र तल्लो हल भने ६० जना क्षमताको भएको मास्के बताउनुहुन्छ । “होटलले पाहुनालाई चौबीसै घन्टा सुविधा दिन्छ”, मास्केले भन्नुभयो । होटलको विशेष परिकार नेपाली दाल, भात, तरकारी हो ।
“गोरखामै उत्पादन भएको धानको चामलको खाना, छोप्राकको दाल, जैविक साग पाहुनाले स्वाद लिन पाउनेछन्” मास्केले भन्नुभयो, “गोरखा आयुर्वेदिक कम्पनीले उत्पादन गरेको साबुन होटलमा प्रयोगमा छ ।” साथै पाहुनाले नेपाली, इन्डियन, चाइनिज र इटालियन परिकार पनि होटलमा पाउँछन् ।
करिब छ रोपनी क्षेत्रफलमा फैलिएको होटलको पहिलो प्रोजेक्ट सकिएको मास्केको भनाइ छ । “हाम्रो रु १५ करोडको प्रोजेक्ट हो” मास्केले भन्नुभयो, “पहिलो चरणको काम सकियो । दोस्रो चरणमा सुविधा सम्पन्न भवन, पौडी पोखरी, अन्डरग्राउन्ड पार्किङलगायतको प्रोजेक्ट निर्माण गर्र्दैछौँ ।” दोस्रो चरणमा निर्माण हुने भवनमा दुई सय जना अट्ने बैठक कक्ष र ३५ जना क्षमताको अर्काे बैठक कक्ष पनि हुने मास्केले जानकारी दिनुभयो ।
मास्केसहित गोरखाका ईश्वरकाजी मास्के र हरिहर श्रेष्ठको लगानीमा होटल सञ्चालनमा आएको हो । होटलमा काम गर्दै आएका कामदारको होटलले जीवन बिमा गरिदिएको जनाएको छ । होटलमा १२ जनाभन्दा बढी कर्मचारी कार्यरत छन् । रासस













प्रतिक्रिया