विराटनगर, २ मंसिर । पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले दलहरुबीच सहमति नभए संविधानसभाका विवादित विषय जनमत सङ्ग्रहबाट टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभएको छ ।
विराटनगरमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता चन्दले बहुमतभन्दा पनि सहमतिबाट संविधान ल्याउनुपर्ने बताउनुभयो । विवादित विषय जनतामाझ लग्नुपर्ने चन्दको भनाइ थियो ।
सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयलाई जनतासँग लगेर उनीहरुको मनोभावबाट चयन गर्नुपर्ने नेता चन्दको सुझाव थियो । सङ्घीयतामा जाँदा सात प्रदेश नै उत्तम रहेको भन्दै नेता चन्दले दलहरु अझै जिम्मेवार र लचिलो भए आगामी माघ–८ गते संविधान जारी हुन सक्ने बताउनुभयो ।
राजनीतिमा सम्भावना सधैँ जीवित नै रहने भएकाले दलहरु गम्भीर भएर छलफलमा गई विवादको टुङ्गोमा पुग्नुपर्ने उहाँले सुझाव दिनुभयो । आफ्नो पार्टीभित्रको नेतृत्वको विवाद विशेष महाधिवेशन बोलाएर समाधान गर्नुपर्ने पक्षमा आफू रहेको चन्दले बताउनुभयो ।















प्रतिक्रिया