ललितपुर, ३० कात्तिक । साझा प्रकाशन आर्थिक अभावका कारणले यस वर्ष पुस्तक प्रदर्शनीको आयोजना गर्न असमर्थ देखिएको छ ।
हरेक वर्ष पुस्तक प्रदर्शनी गर्दै आएको साझा प्रकाशनले यस वर्ष आर्थिक समस्याले गर्दा नै प्रदर्शनी रोक्नु परेको साझाका अध्यक्ष एवम् महाप्रबन्धक दिवाकर ढुङ्गेलले बताउनुभयो ।
उहाँका अनुसार अहिले साझा प्रकाशनले धेरै आर्थिक समस्या झेल्नु परेकाले र अहिले प्रकाशनले प्राथमिकताका साथ कर्मचारीको मनोबल बढाउने काम गरिरहेकाले प्रदर्शनी गर्न नसकेको हो ।
अहिलेको साझा प्रकाशनलाई करिब रु ३५ करोडबराबरको आर्थिक भार रहेको छ । साझा प्रकाशनलाई चुस्त दुरुस्त बनाउनका लागि लामो समय लाग्ने भएकाले अहिले साझा प्रकाशन आर्थिक र मानसिक रूपमा नै कम्जोर बनेको छ ।
ढुङ्गेलका अनुसार साझाले अहिले लामो समयसम्म रोकिएको कर्मचारीको तलब भत्ता दिने काम, उपदानको व्यवस्था गर्ने कामसँगै अस्थायी र करारमा रहेका कर्मचारीलाई व्यवस्थापन गर्ने कामका लागि अग्रसर भइरहेको छ । त्यसका लागि तीव्र रूपमा आयस्रोतको पनि खोजी गरिरहेको छ ।
साझा प्रकाशनका पूर्व सदस्य हरिगोविन्द लुइँटेलका अनुसार साझाले गर्ने गरेको पुस्तक प्रदर्शनीबाट साझालाई फाइदा भने हुने गरेको थियो । गत वर्ष प्रकाशनले असोज १ गतेदेखि पुस्तक प्रदर्शनी आयोजना गरेको थियो । रासस














प्रतिक्रिया