विराटनगर, ३० कात्तिक । वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरिबहादुर केसीले पेट्रोलियम पदार्थसँग सम्बन्धित समस्याको पहिचान गरी ठोस रूपमा मन्त्रालयमा प्रतिवेदन पेस गर्न पेट्रोलियम पदार्थसम्बन्धी व्यापारव्यवसायीलाई सुझाव दिनुभएको छ ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ३७ औँ साधारणसभाको शनिबार विराटनगरमा उद्घाटन गर्दे उहाँले नेपाल आयल निगम र सोसँग सरोकार राख्ने सङ्गठनबीच सम्बन्ध राम्रो हुनुपर्ने विषयमा जोड दिनुभयो ।
गुणस्तर तथा नापतौंल कार्यालयका महानिर्देशक विश्वबाबु पुडासैनीले पेट्रोलियम पदार्थको नापतौल तथा शुद्धतालगायत विषयमा उपभोक्तालाई आश्वस्त पार्ने दायित्व निगमका साथै एसोसिएसनको समेत रहेको उल्लेख गर्नुभयो ।
निगमका निर्देशक मुकुन्दप्रसाद घिमिरेले पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली लागू भइसकेको र सन् २०१४ को १ नोभेम्बरसम्म निगमलाई रु ६७ करोडको नाफा भएको जानकारी गराउनुभयो । रासस













प्रतिक्रिया